नामिवियासंग नेपालको लगातार दोस्रो पराजय

विश्वकप क्रिकेट लिग-२

नामिवियासंग नेपालको लगातार दोस्रो पराजय
0Shares

काठमाडौं, फागुन १० गते

कीर्तिपुर क्रिकेट मैदानमा टस हार्नुको पीडा प्रत्येक टोलीले ब्यहोरिरहेको छ।

आइसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत बुधवार नेपालले नामिवियासंग पुन: पहिले टस अनि पछि खेल हार्यो।

नामिवियासंगको हारको प्रकृती पनि उस्तै थियो। अघिल्लो हप्ता नेपालले पहिले ब्याटिङ गरेर १३२ रन बनाएको थियो भने आज बुधवार अलि वढी १६८ रन बनाउन सक्यो।

५० ओभरको खेलमा यति मध्यम स्कोर जोगाउन मुश्किल हुनेगर्छ।

नेपाली बलरहरुले दोस्रो इनिङमा विपक्षीलाई रोक्न भरपुर प्रयास गरेका थिए। तर सफल हुन सकेन।

१६८ रनमा समेटिएको नेपाल विरुद्ध नामिवियाले ४० ओभरमा लक्ष्य पूरा गर्दै २ विकेटको जित हात पार्यो। नामिवियाले ६० बल खेल्नु अगावै खेल जित्न सफल भयो।

यो नतिजासंगै नामिवियाले नेपाल विरुद्धको खेलबाट ४ अंक जोडेर तालिकाको शीर्ष स्थानमा उक्लिएको छ।

नेपालले अब श्रृंखलाको अन्तिम खेलमा आगामी आइतवार नेदरल्याण्ड्स संग खेल्नेछ।

नेपालले शुरुका दुई खेलाडीलाई फटाफट पवेलियनको बाटो देखाइदिएपछि शुरुमा नेपालको पक्षमा केही आशा देखिएको थियो।

तर सामान्य लक्ष्यलाई पूरा गर्ने क्रममा नामिवियाका कप्तान जेरार्ड एरास्मुसले ५२ रनको महत्वपूर्ण रन तथा मिचेल भान लिङ्गेनले ३१ रन बनाएपछि नेपाल खेलमा फर्कन सकेन।

त्यस्तै जोनाथन स्मिथले केही समय धरमराएको नामिवियाको टोलीलाई ठाम्दै खेललाई सहज जिततिर दोहोर्याउन सफल भए। उनले अविजित ३४ रन बनाए। बेर्नार्ड स्कोल्ट्जले विजयी चौका प्रहार गरेर नामिवियालाई जित दिलाए।

ब्याटिङ संघर्ष

कीर्तिपुरको विहानी पिचमा ब्याटरहरुलाई रन जोड्न मुश्किल हुने गरेकोले टस जित्ने कप्तानले शुरुमै विपक्षीलाई ब्याटिङ गर्न निम्त्याउँदै आएको छ।

पछिल्लो तीन खेलमा खेलाइएको पिचमा नभई आज नयाँ पिचमा खेलाइएको थियो।

आज पहिलो ब्याटिङ पाएका नेपाली ब्याटरको स्थिति पनि संघर्ष मै बित्यो। फलस्वरुप टोली ३७.१ ओभरमा १६८ रनमा अलआउट हुन पुग्यो।

ओपनर आशिफ शेखले विपक्षी बलरविरुद्ध भिड्दै अर्धशतकीय पारी खेले, तर आशा गरिएका थुप्रै खेलाडीहरु भने खुल्न सकेनन्।

ओपनर कुशल भुर्तेल सातौं ओभरमा १८ रन बनाएर आउट भएपछि नेपालको पतनको क्रम शुरु भएको थियो। उनी आउट भएलगत्तै २ बल खेलेर अनिल शाह पनि पवेलियन फर्किए।

अनिलले खाता खोल्न सकेनन्। अनिलले जस्तै देव खनाल पनि खाता खोल्न असफल भए।

आसिफले धैर्यपूर्वक खेल्दै ५८ रनको अर्धशतकिय पारी खेले। उनले कुशल मल्लसंग चौथो विकेटका लागि ५७ रनको साझेदारी पनि गरे।

आसिफ २० औँ ओभरमा आउट भए। त्यतिबेला टोलीको स्कोर जम्मा १०० रन पुगेको थियो। उनले ६४ बल खेलेर ८ चौका र १ छक्का प्रहार गरे।

९ बल खेलेका कप्तान रोहित पौडेलले पनि खाता खोल्न सकेनन्। कुशल मल्लले ३६ रन र भीम सार्कीले २६ रन बनाएर नेपालको इनिङ वढाएका थिए।

नेपालका भरोसायोग्य खेलाडीका रुपमा चिनिएका दीपेन्द्र सिंह ऐरी पनि चल्न सकेनन्। १८ बलको सामना गरेका उनले ६ रन बनाए। कुनै चौका र छक्का प्रहार गर्न सकेनन्।

सोमपाल कामी (४ रन) र करण केसीले १२ रन बनाउन सक्यो। ललित नारायण राजवंशीले खाता खोल्न सकेनन्।

नामिबियाबाट जान निकोल लोफ़्टी इटोन र बेर्नार्ड स्कोल्जले समान ४-४ विकेट लिए ।

पछिल्ला खेलहरुमा प्रभावकारी नदेखिएको गुलशन झा लाई प्रशिक्षक मोन्टी देशाईले वेञ्चमा राख्दै करण केसीलाई टिममा समावेश गरेको थियो।

 

 

प्रकाशित मिति: February 22, 2024

कमेन्ट गर्नुहोस्

advertisment