नोर्बुलाई कुकिओनको सातौं डान

नोर्बुलाई कुकिओनको सातौं डान
0Shares

काठमाडौं, फागुन ४ गते

तेक्वान्दोका वरिष्ठ प्रशिक्षक तथा अन्तर्राष्ट्रिय निर्णायक नोर्बु लामाले विश्व तेक्वान्दो मुख्यालय कुकिवानबाट सातौं डानको प्रमाणपत्र लिएका छन् । करिब चार दशकदेखि तेक्वान्दोमा क्रियाशील नोर्बुलाई नेपाल तेक्वान्दो संघका महासचिव दीपराज गुरुङले कुकिवानले पठाएको सातौं डानको प्रमाणपत्र प्रदान गरेका छन् ।
नोर्बुले सातौं डानको परीक्षा नेपालमै दिएका थिए । नेपाल तेक्वान्दो संघद्वारा लिइएको परीक्षा उतीर्ण गरेपछि मात्रै उनले कुकिवानबाट सातौं डान पाएका हुन् । तेक्वान्दो संघले लिएको सातौं डानको ग्रेडिङसँगै पुम्से र ग्योरोगीको तीन वटा भिडियो तथा थेसिस कुकिवानमा बुझाउनुपर्ने प्रावधान छ । कुकिवानले भिडियोको विश्लेषण र थेसिस अध्ययन गरेर नोर्बुलाई सातौं डानको प्रमाणपत्र दिएको हो ।
काभ्रेको मदनकुडारीका नोर्बुले २०४३ सालमा १३ वर्षको उमेरदेखि तेक्वान्दो खेल्न थालेका हुन् । राष्ट्रिय खेलकुद परिषद्का वरिष्ठ प्रशिक्षक उनले २०५० सालदेखि स्युचाटार तेक्वान्दो डोजाङ सञ्चालन गर्दै आएका छन् । स्युचाटार डोजाङले थुप्रै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गर्दै आएको छ । उनी ग्योरोगी, पुम्से र डेमोस्ट्रेसन विधाका अन्तर्राष्ट्रिय रेफ्री हुन् । पुम्सेको भने उनी सेकेन्ड क्लास अन्तर्राष्ट्रिय रेफ्री हुन् । उनले सन् २०२० मा पुम्सेको सेकेन्ड क्लास अन्तर्राष्ट्रिय रेफ्री बनेका थिए । उनले विभिन्न मुलुकमा भएको अन्तर्राष्ट्रिय रेफ्री रिफ्रेसर कोर्समा सहभागिता जनाउनुका साथै अस्ट्रेलियालगायतका राष्ट्रमा भएका अन्तर्राष्ट्रिय प्रतियोगितामा अफिसियल रेफ्री जर्जको भूमिका निर्वाह गरेका थिए ।

प्रकाशित मिति: February 16, 2024

कमेन्ट गर्नुहोस्

advertisment