नेपाल विरुद्ध क्यानडा: श्रृंखलामा नेपालको कब्जा

नेपाल विरुद्ध क्यानडा: श्रृंखलामा नेपालको कब्जा
0Shares

काठमाडौं, माघ २७ गते

नेपाली खेलाडीहरुले धैर्यपूर्ण ब्याटिङ प्रदर्शन गरेपछि नेपालले शनिवार कीर्तिपुर मैदानमा क्यानडालाई ४ विकेटले पराजित गरको छ।

अनिल शाहको कीर्तिमान सहित कप्तान रोहित पौडेल, देव खनालको अर्धशतकमा नेपालले दोस्रो ब्याटिङमा लगातार बाउन्ड्री प्रहार गर्दै कीर्तिपुर मैदानमा उपस्थित दर्शकहरु माझ जितको खुशी साटेको थियो।

लगातार दुई जितसंगै तीन एकदिवसीय श्रृंखलामा नेपालले २-० कब्जा गरेको छ। अर्को हप्ता कीर्तिपुर मैदानमा नै शुरु हुने विश्वकप लिग २ को लागि नेपालको यो अभ्यास श्रृंखला हो।

टस जितेर क्यानडाले शनिवार ९ विकेटको क्षतिमा बनाएको २८५ रनको चुनौतीपूर्ण स्कोर नेपालले ४५.१ ओभरमा ६ खेलाडी गुमाउँदै पूरा गरेको हो।

तीन एकदिवसीय श्रृंखला अन्तर्गत पहिलो खेल रोमाञ्चक रुपमा जितेको नेपालले शनिवार कुशल भुर्तेल, ललित नारायण राजवंशी र आरिफ शेखलाई वेञ्चमा राखेर अनिल शाह, देव खनाल र आकाश चन्दलाई मौका दिएको थियो।

आकाशको राष्ट्रिय टोलीमा यो डेब्यू खेल हो।

रोहित फेरी नायक

पहिलो खेलमा बलिङमा छाँउदै क्यानडाको ४ विकेट लिएर नाटकिय जित हात पार्न भूमिका खेलेका कप्तान रोहितले दोस्रो खेलमा ब्याटिङको कमाल देखाए।

अनिल शाह आउट भएपछि तेस्रो नम्वरमा मैदानमा प्रवेश गरेका रोहितले केही बेर रोकिएर खेले। तर जब उनको ब्याट चल्यो, त्यसपछि त्यो रोकिएन।

रोहितले तेस्रो विकेटका लागि युवा टोलीका कप्तान देव खनालसंग मिलेर १५० रनको शानदार शतकिय साझेदारी गरे।

देव खनाल ७६ रन बनाएर आउट भएको केही समयपछि रोहित पनि आउट भए। ४०.२ ओभरमा उनी ८७ रन बनाएर आउट भए। तर त्यतिबेला सम्म नेपाल २६१ रनको आरामदायी स्थितिमा पुगिसकेको थियो।

अनिलको कीर्तिमानी अर्धशतक

त्यसअघि कुशल भुर्तेललाई आराम दिई ओपनिङमा मौका दिइएको अनिल शाहले मौकाको सहि सदूपयोग गर्दै एकदिवसीय क्रिकेटमा नेपालका लागि सबैभन्दा छिटो अर्धशतक प्रहार गरे।

शुरुआत देखि नै आक्रामक देखिएका उनले १९ बलमा अर्धशतक ठोकेका हुन्।

यसअघि त्यो कीर्तिमान आसिफ शेखको नाममा थियो, जसले पपुवा न्यूगिनी विरुद्ध गतवर्ष मात्र २१ बलमा अर्धशतक बनाएका थिए।

सो क्रममा अनिलले ७ चौका र ३ छक्का प्रहार गरेका थिए। तर अर्धशतक बनाएको अर्को बलमा उनी एलबीडब्लु आउट हुन पुगे।

प्रारम्भिक ब्याटर आरोन जोन्सन र नवनित धलिवालले पहिलो विकेटका लागि यी ९४ रन जोडेपछि क्यानडाले ठूलो स्कोरतिर लम्किने संकेत दिएको थियो।

आरोनले ६५ रन र नवनितले ४६ रन जोडेका थिए।

डेब्यु खेलाडी आकाशले १९ औं ओभरमा नवनितलाई कट बिहाइन्ड गर्दै यो जोडी तोडेका थिए। त्यो उनको ओडिआई करिअरको पहिलो विकेट थियो।

शनिवार सूर्य तामाङले पनि ओडीआईको पहिलो विकेट लिएको हो। दुई दिन अगाडि राष्ट्रिय टोलीमा डेब्यु गरेका उनले ३५ औं ओभरमा हर्ष ठाकुरको विकेट लिएर खुशियाली मनाएका थिए।

क्यानडाका पर्गत सिंह र निकोलस किर्तनले तेस्रो विकेटका लागि ५३ रनको साझेदारी गर्दै टोलीलाई फेरी खेलमा फर्काउन प्रयास गरे।

पछिल्लो समय फर्ममा देखिएका कामचलाउ स्पिनर कप्तान रोहितले यी दुबैलाई पवेलियनको बाटो देखाइदिए।

यद्यपी क्यानडाले रन स्कोर भने निरन्तर जोडिरहेको थियो। त्यसमा अन्तिम विकेटमा श्रेयस मोभा र उदय भगवानले रनको ४६ रनको साझेदारी गरेपछि टोली झन्डै ३०० रनको नजिक सम्म पुग्न सक्यो।

नेपाली खेलाडीहरु रोहित र कुशल मल्लले २/२ तथा सोमपाल कामी र पवन सर्राफको भागमा १/१ विकेट पर्यो।

 

 

प्रकाशित मिति: February 10, 2024

कमेन्ट गर्नुहोस्

advertisment