चिनियाँ प्रान्तीय टोलीमाथि नेपालको ५ गोल

चिनियाँ प्रान्तीय टोलीमाथि नेपालको ५ गोल
0Shares

काठमाडौं, माघ २७ गते

चिनियाँ नयाँ वर्षको उपलक्ष्यमा २३ वर्ष मुनिको राष्ट्रिय फुटबल टोली र चीनको प्रान्तीय टोली छिङ हाई युसुबीच भएको मैत्रीपूर्ण फुटबल खेल नेपालले जितेको छ।

उक्त खेलमा २३ वर्ष मुनिको नेपाली राष्ट्रिय फुटबल टोलीले ५-१ गोल अन्तरले सहजै विजयी भयो।

सन् १९९५ पछि अर्थात् २९ वर्षपछि चिनियाँ फुटबल टोली दशरथ रङ्गशालामा आएर खेल्दा सांस्कृतिक झाँकीहरू पनि प्रदर्शन गरिएका थिए।

तर फुटबल खेल सुरु भएपछि भने नेपाली टोलीले विपक्षी टोलीलाई पूरा खेल अवधिभर दबाबमा राखेको थियो।

क-कसले गरे गोल?

पछिल्लोपटक २९ वर्ष अगाडि सन् १९९५ मा चीनको फुटबल टोलीले दशरथ रङ्गशालामा खेलेको थियो।

झट्ट हेर्दा चीनको टोली आफ्नो नयाँ वर्षको दिनलाई उल्लासमय बनाउने क्रममा नेपालसँग मैत्री फुटबल खेल्न लागेको जस्तो देखिन्छ।

तर गहिरिएर हेर्ने हो भने यो खेलले नजिकको छिमेकी भएर पनि निकै टाढिएको फुटबल सम्बन्ध स्थापित गर्न खोजेको समेत कतिपयले बताइरहेका छन्।

यस्तोमा शनिवार भएको मैत्रीपूर्ण खेलमा नेपाली टोलीका लागि समीर तामाङले दुई गोल गरे। सञ्जीव विष्ट, छिरीङ लामा र निराजन धामीले १/१ गोल गरे।

चीनका तर्फबाट जर्सी नम्बर ७७ का खेलाडी झाक्सी पेङगुकोले सान्त्वना गोल फर्काएका थिए।

नेपाली पक्षले महत्त्व दिएको खेल

चीनको प्रान्तीय टोली भए तापनि नेपालले त्यसलाई हलुका रूपमा नहेरेको खेलअघि नेपाली पक्षले बताएको थियो।

सायद त्यसैले पनि नेपाली राष्ट्रिय टोलीका इटलियन प्रशिक्षक भिन्सेन्जो अल्वेर्टो एनेसलाई नै युवा टोली सम्हाल्ने जिम्मा दिइएको छ।

युवा टोलीमा ५ जना सिनियर टोलीका खेलाडीहरू समावेश छन्।

जसमा कप्तानको रूपमा मनिष डाँगी छन् भने राष्ट्रिय टोलीबाटै आयुष घलान, लकेन लिम्बू, उत्सव राई र सञ्जीव विष्ट समेत छन्। बाँकी पनि नाम चलेका अनुहारहरू नै टोलीमा राखिएका थिए।

लामो अन्तरालपछि नेपाल र चीनबीच काठमाण्डूमा भएको उक्त फुटबल खेललाई दुवै देशका अधिकारीहरूले महत्त्व दिएका थिए।

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र नेपालका लागि चीनका राजदूत चेन सङ मैदानमा उपस्थित थिए।

“चीन नेपाली खेलकुदको विकासको अहम् हिस्सा रहे पनि पछिल्लो समय त्यसमा कता कता टाढिएजस्तो देखिएको थियो,” प्रतियोगिताको आयोजक राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टङ्कलाल घिसिङ भन्छन्।

“यस मैत्रीपूर्ण फुटबलले यसमा न्यानोपन थपेको छ।”

सन् १९९५ को त्यो रोचक खेल

नेपाल, सिंगापुर पुलिस र चीनको एउटा टोली बिच सन् १९९५ मा दशरथ रङ्गशालामा एउटा अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता भएको थियो।

त्यसबेलाको चिनियाँ टोली निकै लयमा थियो।

र प्रतियोगिताको लीग चरणको अन्तिम खेल नेपाल र चीनबीच थियो।

भइदियो के भने त्यो खेलमा नेपालले बराबरी गर्न सके नकआउट चरणमा पुग्थ्यो।

चीन भने पहिले नै दोस्रो चरणमा पुगिसकेको थियो।

पहिलो हाफसम्म छिटो-छिटो ३ गोल गरेको चिनियाँ टोली दोस्रो हाफमा थप गोल गरेन।

बरु नेपाललाई गोल गर्न सहज वातावरण बनाइदिएको खेल विश्लेषकहरू ठान्छन्।

खेलको दोस्रो हाफमा त यस्तो माहोल बन्यो की चिनियाँ खेलाडीहरूले नेपाललाई गोल गर्न अवसर दिए पनि नेपाली खेलाडीहरू गोल गर्नै सकेनन्।

दर्शकले भरिभराउ रङ्गशालामा त्यस स्थिति निकै सम्झनलायक रहेको विश्लेषण अझैसम्म पनि हुनेगर्छ।

नेपालले बराबरी गरेको खण्डमा लिगबाटै आउट हुने सिंगापुर पुलिसको टोलीले प्याराफिटमा बसेर त्यो खेल हेरिरहेका थिए।

अन्ततः नेपालले गोल गरेर खेल बराबरीमा ल्यायो। नेपाल नकआउट चरणमा पुग्यो।

सिंगापुर घर फर्कियो भने नेपालमा प्रतियोगितामा अगाडी बढ्यो।

 

प्रकाशित मिति: February 10, 2024

कमेन्ट गर्नुहोस्

advertisment