नेपालको रोमाञ्चक जित, रोहित नायक

नेपालको रोमाञ्चक जित, रोहित नायक
0Shares

काठमाडौं, माघ २५ गते

कप्तान रोहित पौडेलले इश्वोरजोत सोहिलाई बोल्ड गरेपछि एउटा नाटकिय खेलमा नेपालले क्यानडालाई ७ रनको रोमाञ्चक जित हात पारेको छ।

४५ औं ओभरको अन्तिम बलमा उदय भगवानलाई रोहित ले ने बोल्ड गर्नु अगाडि क्यानडा २०७/७ को सुरक्षित जिततिर अग्रसर थियो। तर त्यसपछि थप १० रन बनाउँदा टोली अलआउट हुन पुग्यो।

र क्यानडालाई ४७.५ ओभरमा अलआउट गर्दै नेपालले अपत्यारिलो जित हात पार्यो।

यी खेलाडीहरु नेपाली स्पिनरको जालमा फसेको थियो। स्पिनरद्य ललित नारायण राजबंशी र रोहित पौडेलले यी महत्वपूर्ण चारमा २/२ विकेट बाँडेका हुन्।

खेलमा नायक बनेका कप्तान पौडेलले कुल ४ विकेट लिए।

क्यानडासंगको ३ एकदिवसीय श्रृंखला अन्तर्गत विहिवारको यो जित क्यानडा विरुद्ध नेपालको एकदिवसीय भेटमा पहिलो जित पनि हो।

नेपालले पेश गरेको २२५ रनको चुनौतीको सामना गर्न आएको क्यानडा २१७ रनमा अल आउट भएको हो।

क्यानडाका मध्यक्रमका खेलाडी निकोलस कोर्तोन (६८ रन) र परगत सिंह (५० रन) ले धैर्यपूर्ण ब्याटिङ गर्दै अर्धशतकिय इनिङ ठोकेपछि नेपाली बलरहरु अप्ठेरोमा परेको थियो।

अर्को हप्ताबाट कीर्तिपुर मैदानमै शुरु हुने विश्वकप लिग-२ को तयारी स्वरुप यो श्रृंखला खेलिएको हो।

नेपालको ब्याटिङ

यसअघि विहिवार कप्तान रोहित पौडेलले टस जितेर पहिलो ब्याटिङ गरेको नेपालले ९ विकेटको क्षतिमा २२४ रनमा समेटिन पुगेको थियो।

प्रारम्भिक ब्याटर कुशल भुर्तेल अर्धशतकिय पारी खेल्दै नेपाललाई सहि शुरुआत दिलाए पनि मध्यक्रमका प्रमुख ब्याटरहरु चल्न नसक्दा नेपालले चुनौतीपूर्ण लक्ष्य खडा गर्न सकेन।

कुशलले ५८ बलमा ६२ रन बनाउने क्रममा ९ चौका र ३ छक्का प्रहार गरेका थिए। आसिफ शेखसंग मिलेर उनले पहिलो विकेटका लागि ४८ रनको साझेदारी गरे।

११ औं ओभरमा आसिफ शेख ८ रन बनाइ पवेलियन फर्किए। कप्तान रोहित पौडेल टिक्न सकेनन्। उनी १४.३ ओभरमा ८ रन नै बनाएर बोल्ड हुनपुगे।

उनी आउट भएपछि नेपालको रन गति ढिलो हुन पुग्यो। त्यसपछि भीम सार्कीले १७, कुशल मल्लले २० रन बनाएर आउट भए।

लामो समयपछि राष्ट्रिय टोलीमा पुनरागमन गरेका आरिफ शेखले मध्यक्रमको गति वढाएका थिए। ५० बल खेलेर उनले ३८ रनको धैर्यपूर्ण ब्याटिङ गरे। उनी भगवानको बलमा बोल्ड आउट हुंदा ३८.५ ओभरमा नेपालको स्कोर १७३ रन पुगेको थियो।

आरिफ आउट भएपछि उनलाई साथ दिइरहेका पवन सर्राफ पनि १५ रन बनाएर आउट भए। अनि सोमपाल कामीले आक्रामक इनिङ खेल्दै २ छक्काको मदतमा २७ रन बनाए।

पहिलो पटक राष्ट्रिय टिममा परेका रिजन ढकालले ४ रन बनाए भने सुर्य तामाङ १० रनमा अविजित रहे। ललित नारायण राजवंशीको भागमा १ रन पर्यो।

क्यानडाका लागि उदय भगवानले ३, इस्वार्जोड सोहिले २, साद बिन जफरले २ तथा हर्ष थेकर र सहिद अज्माजीले १/१ विकेट लिएका थिए।

नेपालले अब अर्को खेल शनिवार खेल्नेछ।

 

 

प्रकाशित मिति: February 9, 2024

कमेन्ट गर्नुहोस्

advertisment