नेपालको खेल पर्यटन विकासका लागि कोरियामा गोष्ठी हुंदै

नेपालको खेल पर्यटन विकासका लागि कोरियामा गोष्ठी हुंदै
0Shares

काठमाडौं, माघ २१ गते

आगामी मंगलवार फेब्रुअरी ६ तारीखमा दक्षिण कोरियाको राजधानी सउलमा ‘२०२४ स्पोर्टस ग्लोबल टुरिजम’ विषयक एक दिने गोष्ठी आयोजना हुन लागेको छ।

नेपाली राजदूतावास दक्षिण कोरिया, एनआरएनए आइसीसी ग्लोबल एनआरएन फाउन्डेसन, हानयाङ्ग युनिभर्सिटी, र एमआइटी ग्रुप फाउन्डेसनको संयुक्त आयोजनामा हुने सो गोष्ठीको प्रमुख उदेश्य खेल पर्यटनसंग सम्बन्धि क्षेत्रको ज्ञान, सीप र प्रविधि अनुभव आदानप्रदान गर्नुका साथै पर्यटन क्षेत्रमा राष्ट्रिय विकासका लक्ष्यहरू प्राप्त गर्नका लागि गतिशील प्लेटफर्म स्थापित गर्ने रहेको आयोजकले जनाएको छ।

त्यस्तै गोष्ठीमा नेपालको आर्थिक, सांस्कृतिक र सामाजिक विकासको लागि खेल पर्यटनको सम्भाव्यतालाई उजागर गर्नमा केन्द्रित रहने र खेल पर्यटन तथा राष्ट्रिय विकासको क्षेत्रमा प्रख्यात विशेषज्ञहरूको अनुभव आदानप्रदान हुने आयोजकले जनाएको छ।

नेपाल साहसिक खेलहरुको लागि विश्व खेलप्रेमीहरुको गन्तव्यको रूपमा विकसित हुँदै गइरहेको र खेल पर्यटनको उच्च संभावनाहरु रहेकोले यस्ता गोष्ठीहरूको आयोजना गर्न लागेको आयोजकले एक पत्रकार सम्मेलन गरी जनाएको छ। उक्त गोष्ठीमा सहभागि हुन राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङ कोरिया प्रस्थान गरिसकेका छन्।

गोष्ठीको आयोजनाको लागि गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद, नेपाल खेलकुद अनुसन्धान तथा प्रवर्द्धन प्रतिष्ठान र गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद दक्षिण कोरियाले सहजकर्ताको भूमिका निर्वाह गर्ने भएको छ। गोष्ठीमा खेल, पर्यटन, सामाजिक, आर्थिक, हरित उर्जा लगायत अन्य सम्भावित विषयहरूमा कोरिया लगायत अन्य देशबाट आफ्नो शोध, खोज अनि अनुभव समेटेर विज्ञहरुले कार्यपत्र प्रस्तुत गर्नेछन्।

गोष्ठीलाई संस्कृति पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशीला सिर्पाली ठकुरी, दक्षिण कोरियाका लागि नेपाली राजदुत महामहिम डा. ज्योती प्याकुरेल भण्डारी, दक्षिण कोरियाका लागि पाकिस्तानी राजदुत महामहिम नबिल मुनिर, दक्षिण कोरियाका लागि कम्बोडियाका राजदुत महामहिम चिरिङ बटमरेन्से लगायत गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदका पूर्व अध्यक्ष शेष घले, एनआरएनए आइसीसी अध्यक्ष बिनोद कुँवर, एमआइटी ग्रुप फाउन्डेसनका डाइरेक्टर जमुना घले, हान्याङ विश्वविद्यलयका प्रेसिडेन्ट डा. की जङ लीले संबोधन गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ।

गोष्ठीको सफलताको लागि प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड” साथै परराष्ट्र मन्त्री नारायण प्रसाद साउदबाट पत्र मार्फत कार्यक्रम पूर्ण सफलताको शुभकामना व्यक्त गर्दै यस कार्यक्रमबाट नेपालको पर्यटन विकास लगायत अन्य सरोकारको क्षेत्रमा टेवा पुग्ने विश्वास गरेका छन्।

प्रकाशित मिति: February 4, 2024

कमेन्ट गर्नुहोस्

advertisment