आहा रारा गोल्डकप: आर्मीका विमल पाण्डे सर्वोत्कृष्ट  

आहा रारा गोल्डकप: आर्मीका विमल पाण्डे सर्वोत्कृष्ट  
0Shares

पोखरा, माघ २० गते

२३ औँ संस्करणको आहा रारा पोखरा गोल्डकप च्याम्पियन विभागीय टोली त्रिभुवन आर्मी क्लबका डिफेन्स विमल पाण्डे सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन्।

शनिबार सम्पन्न आहा राराको फाइनल खेलमा थ्री स्टार क्लबलाई हराउँदै पहिलोपटक उपाधि दिलाउन महत्त्वपूर्ण भुमिका खेलेका पाण्डे सर्वोत्कृष्ट खेलाडी घोषित हुँदै टेल्जी स्कुटर प्राप्त गरे।

यस्तै  उनी प्रतियोगिताकै सर्वोत्कृष्ट डिफेन्स पनि घोषित हुँदै २५ हजार नगदसहित ट्रफी पनि हात पारे। अन्य विधागत अवार्डमा आर्मीकै वर्चश्व रह्यो।  च्याम्पियन टिम आर्मीका सर्वोत्कृष्ट खेलाडीसहित सर्वाधिक गोलकर्ता, उत्कृष्ट रक्षक, फवार्ड र प्रशिक्षक विधामा पनि उत्कृष्ट सावित भयो। आर्मीकै दिनेश हेन्जन ३ गोलसहित प्रतियोगिताको सर्वाधिक गोलकर्ता बने।

यता जिलेस्पी जंग कार्की उत्कृष्ट फरवार्ड घोषित भए। यसैगरी आर्मीलाई पहिलो पटक आहा राराको उपाधि जिताएका प्रशिक्षक मेघराज केसी उत्कृष्ट प्रशिक्षक घोषित भए।

आर्मीका फरवार्ड भरत खवास र थ्री स्टारका गोलकिपर अभिषेक बरालले पब्लिक च्वाइस अवार्ड पाउँदा आर्मीका समित श्रेष्ठ प्रतियोगिताकै उत्कृष्ट गोलरक्षक बनेका छन्।

प्रतियोगितामा फेयर प्ले अवार्ड भने जावलाखेल युथ क्लबले जित्यो। जावलाखेल यस प्रतियोगिताको पहिलो खेलमा मछ्रिन्द्र फुटबल क्लब र मनाङ मर्स्याङदी फुटबल क्लबलाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको थियो। तर सेमिफाइनलमा जावलाखेल थ्री स्टारसँग १-० गोलले पराजित हुँदै बाहिरिएको थियो।

उत्कृष्ट मिडफिल्डर थ्री स्टारका विवेक पौडेल चुनिएका छन् । सर्वाधिक गोलकर्ता दिनेश हेन्जन भए।

प्रकाशित मिति: February 3, 2024

कमेन्ट गर्नुहोस्

advertisment