आहा रारा पोखरा गोल्डकपको फाइनलमा भिड्दै थ्री स्टार र सेना

आहा रारा पोखरा गोल्डकपको फाइनलमा भिड्दै थ्री स्टार र सेना
0Shares

पोखरा, माघ २० गते

आहा रारा पोखरा गोल्डकपको हकमा थ्री स्टार र त्रिभुवन आर्मी क्लबको फरक अनुभव छ।

त्रिभुवन आर्मी ४ पटक प्रतियोगिताको फाइनल खेलेर पनि उपाधि जित्न जानेको छैन। त्यस विपरित थ्री स्टारले फाइनल खेल्दा उपाधी चुम्ने बानी परिसकेको छ।

त्यसैले आहा रारा गोल्डकप २३ औं संस्करणमा पुग्दा थ्री स्टारले पाँच पटक च्याम्पियन बनिसक्दा सेना उपाधि विहिन छ।

आजको फाइनल भीडन्त त्यसैले दुबै टोलीको लागि विशेष बन्दैछ। सेनाले पुरानो जिँक्स तोड्ने वा थ्री स्टारले उपाधीको बानीलाई निरन्तरता दिने ? पोखरा रंगशालामा आज दिउँसो हुने अन्तिम खेलले त्यसको छिनोफानो गर्नेछ।

आर्मीका प्रशिक्षक मेघराज केसीले यसपटक इतिहास दोहोर्‍याउन नभएर बनाउन आएको बताए। आर्मी सन्तुलित टोली भएको कारण इतिहास बनाउनेमा उनी आशावादी देखिए।

“आर्मी सन्तुलित टोली लिएर पोखरा आएको छ। हामीले प्रतियोगिताका लागि राम्रो तयारी गरेका छौँ। हामी इतिहास दोहोर्‍याउन चाहँदैनौँ। पहिलो पटक च्याम्पियन बन्ने लक्ष्यसाथ मैदान उत्रिने छौँ,” खेलअघि शुक्रबार आयोजना भएको ‘प्रि–म्याच कन्फ्रेरेन्स’मा प्रशिक्षक केसीले भने।

थ्रीस्टार क्लब जावलाखेल युथ क्लबलाई १–० गोल अन्तरले हराउँदै फाइनलको यात्रा तय गर्दा आर्मी चर्च ब्वाइज युनाइटेडलाई पराजित गर्दै फाइनल पुगेको हो।

आर्मीका कप्तान भरत खवास पनि विगतका गल्तीलाई सुधार्दै उपाधि उचाल्ने लक्ष्य रहेको सुनाए। “सबै टोली उपाधि जित्ने लक्ष्य हुन्छ। यसअघि पटक पटक फाइनल पुगेर पनि उपाधिबाट वञ्चित भएका थियौँ। विगतमा केही मिहिनेत नपुगेको जस्तो लाग्छ। तर यसपटक फाइनलमा आफ्नो तर्फबाट सकेको दिने प्रयास हुनेछ,” उनले भने।

थ्रीस्टारका प्रशिक्षक विक्रम लामाले आफ्नो गुरुविरुद्ध फाइनल खेल्न पाउनु सुनौलो अवसर रहेको बताए। “म उहाँले सिकाएका कुरालाई फाइनल खेलमा लागू गर्ने प्रयास गर्नेछु। यो प्रतियोगिता मेरो प्रशिक्षण करिअरमा अभ्यासको रूपमा रहेको छ,” उनले भने।

आर्मी नियमित प्रशिक्षण गरिरहेको राम्रो टोली रहेको थ्रीस्टारका कप्तान विराट महर्जनले बताए। तर, थ्रीस्टार पनि कमजोर टोली नरहेको उनी बताउँछन्। “आर्मी राम्रो टोली हो। उनीहरूले नियमित प्रशिक्षण गरिहरेका छन्। तर हामी पनि कमजोर छैनौँ। फाइनल निकै रोमाञ्चक हुने अपेक्षा छ। हामी उत्कृष्ट प्रदर्शन गर्दै उपाधि जित्ने छौँ,” उनले भने।

प्रतियोगिताको च्याम्पियन टोलीले रु १२ लाख एक हजार नगदसहित ट्रफी पुरस्कार प्राप्त गर्नेछन् ।

 

प्रकाशित मिति: February 3, 2024

कमेन्ट गर्नुहोस्

advertisment