आर्मी आहा रारा गोल्डकपको फाइनलमा

आर्मी आहा रारा गोल्डकपको फाइनलमा
0Shares

पोखरा,  माघ १८ गते

अतिरिक्त समयमा जित निकाल्दै त्रिभुवन आर्मी क्लब २३औ संस्करणको आहा रारा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ।

विहिवार पोखरा रंगशालामा भएको खेलमा चर्च ब्वाइज युनाइटेडलाई २-१ गोलअन्तरले पराजित गर्दै आर्मीले फाइनलमा स्थान सुरक्षित गरेको हो।

आर्मीका लागि दिनेश हेन्जन र रस बहादुर मगरले गोल गर्दा चर्च ब्वाइजका लागि समिर तामांगले गोल गरे। निर्धारित समयमा दुवै टोलीले १-१ गोलको बराबरी खेलेपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो।

अतिरिक्त समयमा आर्मीका रस बहादुर मगरले गोल गर्दै आर्मीको जित सुनिश्चित गराए।

खेलको दशौ मिनेटमा चर्च ब्वाइजका प्रशान्त लक्षामले डिबक्सभित्रबाट प्रहार गरेको बललाई आर्मीका गोलकिपर समित श्रेष्ठले उत्कृष्ट बचाउ गरेका थिए। २०औ मिनेटमा आर्मीका कप्तान भरत खवासको खुट्टामा इन्जुरि भएपछि मैदान छाडेका थिए।

उनले पहिलो खेलमा राइजिंग स्टारसंग निर्णायक गोल गरेका थिए। ४४औ मिनेटमा आर्मीका दिनेश हेनजनले डिबक्सबाहिरबाट प्रहार गरेको बल चर्चका गोलकिपर सन्तोष महतले सहज बचाउ गरे।

६०औ मिनेटमा आर्मीका दिनेश हेन्जनले फ्रिकिकमार्फत शानदार गोल गर्दै आफ्नो टोलिलाई सुरुवाती अग्रता दिलाए। करिब ३० याडको दुरिबाट प्रहार गरेको दिनेशको बलले चर्चको गोलपोष्टको जालि चुमेको हो।

चर्चका सन्तोष खत्रीले दिनेशलाई डिबक्सबाहिर लडाएपछि आर्मीले फ्रिकिक पाएको थियो। यो संगै दिनेश प्रतियोगिताको टप स्कोरर समेत बनेका छन्। उनले तीन खेलमा ३ गोल गरेका छन्।

७५औ मिनेटमा चर्चका धिरज थजालिले डिबक्सबाहिरबाट प्रहार गरेको फ्रिकिक गोलपोष्टको केही माथिल्लो भागबाट बाहिरियो।

८५औ मिनेटमा समिर तामांगले सुन्दर गोल गर्दै आफ्नो टोलीलाई खेलमा फर्काए। सन्तोष खत्रीले दिएको लामो पासलाई उनले गोलकिपरसंग वान भी वानको स्थितिमा गोल गरेका हुन्। अतिरिक्त समयको ९९औ मिनेटमा आर्मीका रस बहादुर मगरले गोल गर्दै आफ्नो टोलीलाई २-१ को अवस्थामा पुर्याए।

बसन्त जिम्बाले कर्नर साइडबाट दिएको लामो पासलाई मगरले हेडिङ गोल गर्दै चर्चको पोष्टको जालि चुमाएका हुन्। ११७औ मिनेटमा आर्मीका वसन्त जिम्बाले डिबक्सबाहिरबाट प्रहार गरेको बल चर्चको गोलपोष्टको नजिकबाट बाहिरियो।

आर्मीले अब उपाधिका लागि थ्रीस्टार क्लबसंग प्रतिस्पर्धा गर्नेछ। फाइनल खेल २० गते शनिवार दिउसो १ बजेबाट सुरु हुनेछ।

प्रकाशित मिति: February 1, 2024

कमेन्ट गर्नुहोस्

advertisment