पिएम कपः एपीएफ बाहिरियो

पिएम कपः एपीएफ बाहिरियो
0Shares

काठमाडौं, माघ १७ गते

विभागीय टोली एपीएफ प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगिताबाट बाहिरिएको छ। बुधबार सम्पन्न खेलमा एपीएफ कर्णाली प्रदेशसँग २१ रनले पराजित भएपछि बाहिरिएको हो।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा कर्णालीले दिएको २०६ रनको लक्ष्य पछ्याएको एपीएफ ४४ ओभरमा १८५ रनमा अलआउट भएको हो। एपीएफका लागि ओपनर आशिफ शेखले उनले ११२ बलमा १० चौका र २ छक्कासहित १०८ रनको शतक प्रहार गरे।

त्यस्तै अमर रौउटेलाले २८ रन बनाउँदा कप्तान रोहितकुमार पौडेल १४ रन बनाउनु बाहेक अन्य खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन्।

कर्णालीका लागि प्रकाश जैशीले सर्वाधिक ४ विकेट लिँदा दिपेन्द्र रावत र युनिस सिंहले २/२ विकेट लिँए। त्यस्तै दिवस पुन र दिनेश अधिकारीको नाममा १/१ विकेट रह्यो।

त्यसअघि टस हारेर पहिला ब्याटिङ थालेको कर्णाली ४४.१ ओभरमा २०६ रनमा अलआउट भएको थियो। कर्णालीका हिमान्शु शाहीले ५० बलमा २ चौका र ७ छक्कासहित ६२ र अर्जुन घर्तीले ५३ रन बनाए। त्यस्तै दिपेन्द्र रावत २७, रविन्द्र शाही २२ रन बनाए।

एपीएफका लागि मौसम ढकालले सर्वाधिक ३ विकेट लिए। त्यस्तै अमर रौटेलाले २ विकेट लिँदा भुवन कार्की र रमेश कुर्मीको नाममा १/१ विकेट रह्यो।

यो पराजयसँगै एपीएफले ‘थ्री डे एलिट ट्रफी’ पनि खेल्न नपाउने भएको छ। दोस्रो स्थानमा रहेको त्रिभुवन आर्मी, शीर्ष स्थानमा रहेको नेपाल पुलिस, तेस्रोमा रहेको मधेश प्रदेश र चौथोमा रहेको बागमती प्रदेशले एलिट ट्रफी खेल्ने भएका छन्।

प्रकाशित मिति: January 31, 2024

कमेन्ट गर्नुहोस्

advertisment