पिएम कप : नेपाल पुलिस फाइनलमा

पिएम कप : नेपाल पुलिस फाइनलमा
0Shares

काठमाडौँ,  माघ १५ गते

गण्डकी प्रदेशलाई पराजित गर्दै विभागीय टोली नेपाल पुलिस क्लब प्रधानमन्त्री कप पुरुष राष्ट्रिय एक दिवसीय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

मूलपानी क्रिकेट मैदानमा आज सोमबार भएको खेलमा पुलिसले गण्डकी प्रदेशलाई ६ विकेटले हराउँदै प्रतियोगिताको फाइनलमा पुगेको हो ।

अपराजित रहेको पुलिस १४ अङ्क जोड्दै तालिकाको शीर्ष स्थानमा रहदा पराजित गण्डकी ८ खेलमा ४ अङ्क जोड्दै आठौँ स्थानमा रहेको छ । जितका लागि गण्डकीले दिएको १७१ रनको लक्ष्य पुलिसले २४. २ ओभरमा चार विकेट गुमाउँदै पूरा गर्यो ।

पुलिसका लागि दिलिप नाथले सर्वाधिक ५७ रनको योगदान दिए । उनले ३९ बलमा ६ चौका र चार छक्काको मद्दतले ५७ रन बनाएका हुन् ।

अर्जुन साउदले अविजित ४४ रन बनाउँदा आरिफ शेखले अविजित २७, कुशल भुर्तेलले २२ र शङ्कर रानाले १२ रन बनाए । गण्डकीका लागि सन्दीप पराजुलीले दुई विकेट लिए भने कमल परियार र कप्तान विपिन खत्रीले १/१ विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको गण्डकीले ३८.३ ओभरमा सबै विकेट गुमाउँदै १७० रनको योगफल बनाएको थियो । गण्डकीका लागि अमृत गुरुङले सर्वाधिक ५० रनको योगदान दिएका थिए । उनले ३९ बलमा आठ चौका र दुई छक्काको मद्दतले ५० रन जोडेका हुन् ।

यसैगरी किरण पंगेनी र कमल परियारले समान ३०/३० रन बनाए भने समिर कँडेलले २९ र कृष ऐरले १० रन बनाए । बलिङतर्फ पुलिसका राशिद खानले सर्वाधिक पाँच विकेट लिए। त्यस्तै करण केसी र ललितनारायण राजवंशीले समान २/२ विकेट लिदा कप्तान दीपेन्द्रसिंह ऐरीले एक विकेट लिए।

 

प्रकाशित मिति: January 29, 2024

कमेन्ट गर्नुहोस्

advertisment