प्रधानमन्त्री कप: आर्मी १६४ रनले विजयी

प्रधानमन्त्री कप: आर्मी १६४ रनले विजयी
0Shares

काठमाडौँ, माघ १४ ।

त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गतको खेलमा कर्णाली प्रदेशमाथि १६४ रनको फराकिलो जित हासिल गरेको छ।

आइतबार टियु मैदानमा सम्पन्न खेलमा आर्मीले दिएको २८० रनको लक्ष्य पछाएको कर्णाली प्रदेशले २९ ओभरमा अलआउट हुँदै ११५ रन मात्र बनाएपछि खेल १६४ रनले पराजित भएको हो।

कर्णाली प्रदेशका लागि हिमांशु शाहीले सर्वाधिक १९ रन बनाए। दिवान पुनले १८ रन, बिपिन शाहीले १४ रन बनाउँदै आउट भए भने कप्तान रविन्द्र शाही पनि १२ रन बनाए। ओपनर निश्चल रावल पनि १२ रन बनाउँदै पेभेलियन फर्किए।

दीपेन्द्र रावतले पनि १२ रनमात्र बनाउन सके। प्रकाश जैसी ९ रनमा आउट भए भने दिनेश अधिकारीले पनि ९ रन जोडे। कर्णाली प्रदेशले अतिरिक्त रुपमा आठ रन पाएको थियो। यता बलिङतर्फ आर्मी क्लबका लागि कुशल मल्ल र बिवेक यादबले समान ३-३ विकेट लिए।

बिवेकले ६ ओभरमा २ मेडन राख्दै २५ र कुशलले ७ ओभरमा १ मेडन राख्दै २० रन खर्चिए। सोमपाल कामीले पनि २ विकेट हात पार्दा साहब आलमले १ विकेट लिए। त्यसअघि चौथो नम्बरमा क्रिज समाल्न आएका कप्तान विनोद भण्डारी र सातौँ नम्बरका ब्याट्सम्यान बसिर अहमदले १६९ रनको साझेदारी गरेका थिए। कप्तान विनोदले अविजित १०० रन बनाए।

उनले १३२ बलको सामना गरी ३ छक्का र ६ चौका पनि हिर्काए। उनले अन्तिम ओभरको अन्तिम बलमा शतक पुरा गरे। बसिर अहमदले अविजित ९८ रन बनाए। अहमदले ९२ बलको सामना गरी १ छक्का र १२ वटा चौका पहार गरेका थिए । त्यस्तै भीम सार्कीले २५, ओपनर सन्तोष कार्कीले ११ रन बनाए।

बलिङतर्फ कर्णालीका दीपेन्द्र रावतले २ तथा प्रकाश जैसी, दिनेश अधिकारी र दिवान पुनले समान १-१ विकेट लिए। जितपछि आर्मी अंकतालिकामा तेस्रो स्थानमा उक्लिएको छ। आर्मीको ७ खेलमा ५ जितसहित १० अंक हासिल गरेर तेस्रो स्थानमा उक्लिएको हो। कर्णालीले भने पाँचौं हार बेहोरेको छ। कर्णालीको ८ खेलमा ६ अंक रहेको छ र हाल सातौं स्थानमा रहेको छ।

प्रकाशित मिति: January 28, 2024

कमेन्ट गर्नुहोस्

advertisment