काठमाडौं, माघ ८
२० औं पल्सर स्पोर्टस अवार्डको सह प्रायोजकको रुपमा रियल स्टेट व्यवसायमा क्रियाशील कम्पनी लालपूर्जा नेपाल आएको छ।
नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले यहि माघ २८ गते होटल याक एण्ड यतिमा आयोजना गर्ने कार्यक्रमका लागि लालपूर्जा नेपाल रियल स्टेट पार्टनरका रुपमा रहनेछ।
त्यसका लागि सम्झौता पत्रमा नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) का अध्यक्ष दुर्गानाथ सुवेदी (देवेन्द्र) र लालपूर्जा नेपालका प्रवन्ध निर्देशक सञ्जय नेपालले हस्ताक्षर गर्नुभएको छ । सम्झौतापछि अध्यक्ष सुवेदीले स्पोर्टस अवार्डको दायरालाई अझै फराकिलो पार्नका लागि रियल स्टेट व्यवसायमा सक्रिय संस्थालाई आबद्ध गरिएको बताउनुभयो ।
लालपूर्जाका प्रबन्ध निर्देशक नेपालले देशको सान र मानसँग जोडिएको खेलकुद क्षेत्रको प्रतिष्ठित पल्सर स्पोर्ट्स अवार्ड कार्यक्रममा सहकार्य गर्न पाउनु आफ्नो खुसीको विषय भएको बताउनुभयो ।
नौ विधामा प्रदान गरिने पल्सर स्पोर्ट्स अवार्डको पिपल्स च्वाइस विधाको मनोनयन सार्वजनिक भइसकेको छ ।
पिपल्स च्वाइसमा फुटबलका अनन्त तामाङ, करातेका विप्लवलाल श्रेष्ठ, भलिबलकी निरुता ठगुन्ना, टेबल टेनिसकी सिक्का सुवाल श्रेष्ठ र शारीरिक सुगठनकी रजनी श्रेष्ठ मनोनयनमा पर्नुभएको छ । उहाँहरूको भोटिङका लागि प्रचारप्रसार तीव्र भइरहेको छ । ई–सेवाबाट भोटिङ र नेपाल खेलकुद पत्रकार मञ्च र मुख्य प्रायोजक हंशराज हुलासचन्द एन्ड कम्पनीको आधिकारिक फेसबुक पेजबाट प्रचार कार्य जारी छ ।
पल्सर स्पोर्ट्स अवार्ड २०७९ को अन्य विधामा वर्षका उत्कृष्ट पुरुष, महिला र युवा तथा प्रशिक्षक विधाको मनोनयन पनि छिटै सार्वजनिक गरिने जानकारी गराउँछौं । त्यस्तै पारा एथलिट सम्मान, स्पेसल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड र एसियन स्पोर्ट्स जर्नालिस्ट विधाको घोषणा भने माघ २८ गते कार्यक्रमकै दिन घोषणा हुनेछ ।
यस पटक वर्ष पुरुष, महिला, युवा, प्रशिक्षक र पिपल्स च्वाइसका विजेताले जनही बजाज पल्सर मोटरसाइकल पाउनेछन् । तीमध्ये दुई वटा एन २५० र तीन वटा एन १६० मोटरसाइकल रहेको छ । अन्य विधाका विजेतालाई जनही ५० हजार रुपैयाँ र गिफ्ट ह्याम्पर प्रदान गरिनेछ ।
स्पोर्ट्स अवार्डका अन्य सह–प्रायोजक तथा सहयोगीमा ई–सेवा, सूर्य नेपाल प्रालि, होटल याक एन्ड यती, सुबिसु, रोयल सिंगी होटल,प्लाजा ग्रुप अफ होटल, आईएसएस,राष्ट्रिय खेलकुद परिषद् (राखेप) र नेपाल ओलम्पिक कमिटी छन् ।
प्रकाशित मिति: January 23, 2024
 
                                            
                                         
                                                                         
                                                                         
                                                                         
                                                                         
                                                                         
                                                                         
                                         
                                         
                                         
                                         
                                         
                                         
                                         
                                         
                                         
                                        