सम्झना कप अन्तर्राष्ट्रिय टेबलटेनिस मंगलबारदेखि

सम्झना कप अन्तर्राष्ट्रिय टेबलटेनिस मंगलबारदेखि
0Shares

काठमाडौं, माघ ८ गते
ललितपुर टेबलटेनिस क्लबको आयोजना तथा कन्सेप्ट मेकर्जको व्यवस्थापनमा छैटौं सम्झना कप अन्तर्राष्ट्रिय टेबलटेनिस प्रतियोगिता माघ १६ गतेदेखि हुने भएको छ ।
प्रतियोगितामा ३ सय ९० खेलाडीको सहभागिता रहने सोमबार आयोजित पत्रकार सम्मेलनमा आयोजक क्लबका अध्यक्ष उर्दीप जोशीले जानकारी गराए । त्यसमा भारतबाट १६ पुरुष र ८ महिला तथा चीनबाट २ महिला खेलाडी सहभागी हुने छन् । बाँकी नेपाली खेलाडी रहेका छन् ।
प्रतियोगितामा पुरुष÷महिला सिंगल्स र टिम, पुरुष सिंगल्स भेट्रान ४० वर्षमाथि र ५५ वर्षमाथि, महिला सिंगल्स भेट्रान ४० वर्षमाथि तथा यु–१६ ब्वाइज÷गल्र्स सिंगल्स गरी ९ स्पर्धामा प्रतिस्पर्धा हुनेछ । पुरुष÷महिला सिंगल्स र टिममा शीर्ष तीन स्थान हात पार्ने क्रमशः ५० हजार, २५ हजार र १०÷१० हजार नगद पुरस्कार पाउने  छन् । बाँकी स्पर्धामा पहिलो हुनेले २० हजार, दोश्रोले १० हजार र तेश्रोले ५÷५ हजार नगद पुरस्कार जित्ने छन् । कुल नगद पुरस्कार राशी ५ लाख ८० हजार रुपैयाँ रहेको छ ।
लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा पाँच दिनसम्म चल्ने प्रतियोगिता सञ्चालन गर्न करिब २३ लाख ३५ हजार रुपैयाँ खर्च हुने आयोजकले जनाएको छ ।
पत्रकार सम्मेलनमा आयोजक क्लब, मुख्य प्रायोजक सम्झना ल्याबोरेटरी क्लिनिक प्रा.लि. र हस्पिटालिटी पार्टनर नेपाली घर होटल प्रा.लि. बीच त्रिपक्षीय सम्झौता पनि भएको छ । आयोजकका अध्यक्ष जोशी, सम्झनाकी निर्देशक रजना जोशी र नेपाली घरका जनरल म्यानेजर राजीव श्रेष्ठले सम्झौता पत्रमा हस्ताक्षर गरे । सम्झौता अनुसार सम्झनाले कुल खर्चको ५० प्रतिशत तथा नेपाली घरले ५ लाख २ हजार रुपैयाँ बराबरको सहयोग गर्ने बताइएको  छ ।
त्यस्तै इक्विपमेन्ट पार्टनर भारतको स्ट्याग ग्लोबल प्रा.लि. तथा पोशाक पार्टनरमा भ्याली स्पोर्ट्स हाउस, भक्तपुर रहेका छन् । ललितपुर जिल्ला टेबलटेनिस संघले पनि सहयोग गर्ने जनाइएको छ ।

प्रकाशित मिति: January 23, 2024

कमेन्ट गर्नुहोस्

advertisment