नेपाल न्यूजिल्याण्डलाई छिचोल्न असफल

नेपाल न्यूजिल्याण्डलाई छिचोल्न असफल
0Shares

काठमाडौै, माघ ७ गते

यु १९ विश्वकपको चर्चा चल्दा नेपालले सन् २००६ मा खेलेको त्यो इनिङको संधै सम्झना हुने गर्छ। प्लेट च्याम्पियनसिपको फाइनलमा त्यो बेला नेपालले न्युजिल्याण्ड विरुद्धको अति रोमाञ्चक खेलमा नेपाल १ विकेटले विजयी भएको थियो।

त्यसपछि नेपाल र न्यूजिल्याण्डको भेट सन् २०१६ को टी २० विश्वकपमा भयो र त्यहाँ पनि नेपाल ३२ रनको जित हात पार्यो।

तर आज आइतवार दक्षिण अफ्रिकामा भएको तेस्रो भेटमा भने नेपालले विगतको गर्विलो इतिहास कायम राख्न सकेन। टोली न्यूजिल्याण्डसंग ६४ रनले पराजित हुन पुग्यो।

दक्षिण अफ्रिकाको इस्ट लन्डनमा खेलिएको खेलमा टस जितेर पहिले ब्याटिङको निर्णय गरेको न्यूजिल्याण्डले पूरा ओभरमा ३०२ रन जोडेको थियो। जवाफमा नेपालले पुरै ओभर खेलेर २३८ रन मात्र बनायो।

शुरुआतमा नेपालका स्पिनरहरुले लगातार ३ विकेट लिंदै विपक्षी माथी हावी हुने संकेत देखाएको थियो।

तर स्नेहित रेड्डीको अविजित १४७ रनको शानदार शतक ठोकेपछि न्यूजिल्याण्डले ३ सय भन्दा वढी रन बनाउन सकेको हो।

पहिलो पावर प्लेको अन्त्यमा न्यूजिल्याण्ड विना विकेट ५३ रनको सहज स्थितिमा थियो। तर स्पिनरहरु सुभाष भण्डारी, तिलकराज भण्डारी र दीपेश कँडेलले एकपछि अर्को गरेर ३ विकेट लिएपछि १५ ओभर भित्र न्यूजिल्याण्ड ६७/३ को स्थितिमा पुगेको थियो।

त्यसपछि रेड्डी र कप्तान ओस्कर ज्याक्सनले चौथो विकेटका लागि १५७ रनको शानदार साझेदारी इनिङ खेले र खेललाई न्यूजिल्याण्डको पकडमा राख्न सफल भयो।

१२५ बल खेलेका उनले ११ चौका र ६ छक्का प्रहार गरे।

नेपाली बलरहरुलाई निरिह बनाउँदै यी दुईले खेललाई ४२ ओभरसम्म दोर्याएका थिए।

कप्तान ज्याक्सन ४१.५ ओभरमा ७५ रनमा आकाश त्रिपाठीबाट ७५ रनमा बोल्ड भएपछि मात्र यो जोडी टुटेको थियो।

त्यसपछि नेपाली बलरहरुले छरितो रुपमा बाँकी ५ विकेट लिएपनि न्यूजिल्याण्डका खेलाडीहरुले बलियो स्कोर जोडिसकेका थिए।

नेपालका लागि सुभाष भण्डारीले ३ तथा गुलशन झाले २ विकेट लिए।

नेपाली इनिङ

विशाल रन पछ्याउनका निम्ति रन रेट बनाउँदै ठूलो स्कोर बनाउनुपर्ने दवावमा रहेको नेपाली खेलाडीहरुले सम्हालिएर खेल्न सकेनन्।

अर्जुन कुमाल बाहेक अन्य खेलाडीहरुको प्रदर्शन खेलको आवश्यकता अनुसार पटक्कै थिएन।

अर्जुन कुमाल एक्लैले नेपाली इनिङ सम्हाल्ने दुस्साहस गरिरहे। बाँकी उनलाई साथ दिने खेलाडीहरु नियमित रुपमा आउट भइनै रहे। अर्जुनले भने १०४ बलको सामना गर्दै ९० रनको शानदार अर्धशतक प्रहार गरे।

शतक नजिक पुगिसकेको बेला उनी वैकल्पिक खेलाडी आरएच फाउल्केसबाट क्याच आउट हुन पुगेका थिए।

प्रारम्भिक ब्याटर दीपक बोहोरा खेलको तेस्रो बलमा खाता खोल्न नसकी आउट भएसंगै नेपालको पतन शुरु भएको थियो।

त्यसपछि आकाश त्रिपाठी छैटौं ओभरमा क्याच आउट भए। उनले १४ बलमा २ रन मात्र जोड्न सके।

त्यसपछि कप्तान देब खनाल आउट भए। देबले अर्जुन संग मिलेर ५९ रनको साझेदारी गर्दा सम्म नेपाली टोलीमा प्रशस्त आशा बाँकी थियो। तर उनी ३६ रनमा खेलिरहेको बेला क्याच आउट हुनपुगे। उनले ३४ बल खेल्दै ५ चौका र १ छक्का प्रहार गरेका थिए। त्यो नै नेपाली इनिङको एकमात्र छक्का थियो।

उत्तम मगरले पनि खाता खोल्न सकेनन्। प्रतियोगितामा सबैको आँखामा परेका खेलाडी गुलशन झा २ रनमा समेटियो। त्यस्तै दिपक बोहोरा १५ रन जोड्दै समातिए। आकाश चन्द १४ रनमा ज्याक्सनद्धारा समातिन पुगेका थिए।

अन्तिमतिर आएका सुभाष भण्डारीले अविजित ३३ रन बनाए।

समुह ‘डी’ मा रहेको नेपालले खेल्ने तीन खेल मध्ये कम्तिमा एक खेल जित्न सकेमात्र सुपर सिक्समा पुग्ने सम्भावना रहन्छ। नेपालले अब पाकिस्तान र अफगानिस्तानसंग खेल्न बाँकी छ।

 

 

 

प्रकाशित मिति: January 21, 2024

कमेन्ट गर्नुहोस्

advertisment