आहा रारा पोखरा गोल्डकपमा २८ लाख पुरस्कार

आहा रारा पोखरा गोल्डकपमा २८ लाख पुरस्कार
0Shares

काठमाडौं । सहारा क्लब पोखराको आयोजनामा मंगलबारदेखि सुरु हुने २३ औं आहा रारा पोखरा गोल्डकपमा २८ लाख ३२ हजार ५ सय ५५ हजार रुपैयाँ पुरस्कार दिइने भएको छ । आयोजकले आइतबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको तयारी र पुरस्कार रकमका बारेमा जानकारी गराएको हो ।

पोखरा रंगशालामा माघ २० गते सम्म हुने प्रतियोगिताको विजेताले १२ लाख १ हजार र उपविजेताले ६ लाख १ हजार रुपैयाँ प्राप्त गर्नेछ । सहभागी टालीले हरेक खेलमा प्रोत्साहन रकम पाउने सहारा क्लबले जनाएको छ ।

प्रि-क्वार्टरफाइनल खेल्ने टोलीले २० हजार, क्वार्टरफाइनल खेल्ने टोलीले ३० हजार तथा सेमिफाइनल खेल्ने टोलीले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् । यसैगरी  प्रतियोगितामा सहभागी सबै टोलीको दैनिक भत्ता र आउँदा जाँदा लाग्ने यातायात खर्च आयोजकले नै ब्यहोर्ने बताइएको छ ।

प्रतियोगिताको मुख्य प्रायोजक हिमश्री फुड्स प्रालिको उत्पादन आहा तथा रारा तयारी चाउचाउ रहँदै आएको छ । पोखरा महानगरपालिका संरक्षक, सह-प्रायोजक पोखरा महानरपालिका वडा नम्बर ९, लाइभ ब्रोडकाष्टिङ पार्टनर डिस होमको एक्सन स्पोर्टस छन् ।

प्रतियोगितालाई राष्ट्रिय खेलकुद परिषद् (राखेप), प्रदेश खेलकुद परिषद् गण्डकी, अखिल नेपाल फुटबल संघ (एन्फा), जिल्ला खेलकुद विकास समिति कास्की र प्रदेश फुटबल संघ गण्डकी, कास्की जिल्ला फुटबल संघ, सहारा युके, सहारा हङकङ, सहारा अस्ट्रेलियालगायतको विशेष सहयोग रहने छ ।

यसैगरी प्रतियोगितालाई लुम्बिनी विकास बैंकले अफिसियल बैंक तथा बुद्ध एयर अफिसियल एयरलायन्सको रूपमा साथ दिएका छन् ।

सहाराले प्रि-क्वार्टरफाइनल र क्वार्टरफाइनलका लागि टिकट दर साधारणतर्फ १ सय र भिआइपीतर्फ २ सय तोकेको छ । यसैगरी तथा सेमिफाइनलमा साधारणतर्फ २ सय र भिआइपीतर्फ ४ सय तथा फाइनलमा साधारणतर्फ ३ सय र भिआइपी तर्फ ५ सय रुपैयाँ टिकट दर तोकिएको छ ।

प्रतियोगितमा एक विदेशीसहित १२ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको उद्घाटन खेलमा आयोजक सहारा क्लब र थ्री स्टार क्लब भिड्नेछन् ।

प्रकाशित मिति: January 21, 2024

कमेन्ट गर्नुहोस्

advertisment