प्रथम प्रवीण घले स्मृति कपको उपाधि रोयल्स फेमेलीलाई

प्रथम प्रवीण घले स्मृति कपको उपाधि रोयल्स फेमेलीलाई
0Shares

सिन्धुपाल्चोक, माघ १ गते

रोयल्स फेमेली चौताराले प्रथम प्रवीण घले स्मृति कप तथा मुग ल्हो ल्होसार खुला ७ ए साइड फुटबल प्रतियोगिता २०८० को उपाधि जितेको छ।

चौतारा टुँडिखेलस्थित मिनी रंगशालामा सोमबार सम्पन्न फाइनल खेलमा रोयलले बाह्रदेवी युवा क्लब बाह्रबिसेलाई पेनाल्टी सुटआउटमा ३-२ गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो।

निर्धारित समय गोलरहित बराबरीमा सकिएपछि उपाधिको छिनोफानो पेनाल्टीबाट गरिएको हो। जसमा रोयल्स बाजी मार्‍यो। उपाधिसँगै रोयल्सले नगद विजेताले १ लाख ५१ हजार १५१ रुपैयाँ र ट्रफी हात पर्‍यो। उपविजेता बाह्रदेवीले नगद ७५ हजार ५५५ रुपैयाँ, ट्रफी र मेडलमा चित्त बुझायो।

प्रतियोगिताको उत्कृष्ट गोलरक्षक रोयल्सको नवीन शिल्वाल घोषित भए। डिफेन्डर रोयल्सका सतिश सुवाल, उत्कृष्ट मिडफिल्डर सुरजज्यू ठकुरी, वेस्ट प्लेयर सुनिल घले र सर्वाधिक गोलकर्ता मेलचौर युवा जागरण समाजका सुरुज लामा घोषित भए।

उनले यस प्रतियोगितामा कुल ३ गोल गरेका थिए। यी सबै विधाका खेलाडीले नगद ५ हजारसहित ट्रफी मेडल प्राप्त गरे। बाह्रदेवी गाती युवा क्लबलाई र रोयल्स सिन्धुपाल्चोक फुटबल क्लब लामेसाँघुलाई पराजित गर्दै फाइनलमा प्रवेश गरेको थियो।

फाइनल तथा समापन समारोहमा बागमती प्रदेशका भौतिक तथा पूर्वधार विकासमन्त्री युवराज दुलाल प्रमुख अतिथि रहेका थिए। चौतारा साँगाचोकगढी नगरपालिकाका उपप्रमुख सीता थापा विशेष अतिथि रहेकी दिइन् भने अन्य राजनीतिक दलका प्रतिनिधिको सहभागिता रहेको थियो।

समापन समारोहमा आयोजक लिलफुङ घले समाज सिन्धुपाल्चोक जिल्ला कार्यसमितिले र्‍यालीसहित विभिन्न विशेष सांस्कृतिक कार्यक्रमको आयोजना गरेको थियो। स्वर्गीय प्रवीण घले चौताराका समाजसेवी थिए। स्थानीय वनदेवी माविको अध्यक्ष रहेकै बखत जटिल रोगका कारण केही वर्षअघि मात्र उनको निधन भएको थियो।

२०७४ को स्थानीय निर्वाचनमा चौतारा ५ को वडा सदस्यमा निर्वाचित भएका घलेले केही समय कार्यवाहक अध्यक्षको जिम्मेवारी पनि निर्वाह गरेका थिए। उनकै सम्झनामा यस प्रतियोगिताको आयोजना गरिएको हो। प्रतियोगिता गत पुस २४ गतेबाट शुरू भएको थियो। प्रतियोगितामा १६ टिमले सहभागिता जनाएका थिए।

प्रकाशित मिति: January 16, 2024

कमेन्ट गर्नुहोस्

advertisment