ललितपुर एनएसएल च्याम्पियन

ललितपुर एनएसएल च्याम्पियन
0Shares

काठमाडौँ, पुस १४ गते

दोस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल) को उपाधि ललितपुर सिटीले जितेको छ।

शनिबार सम्पन्न खेलमा धनगढी एफसीलाई पराजित गर्दै ललितपुरले उपाधि जितेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा ललितपुरले धनगढीलाई ३–२ गोलअन्तरले पराजित गरेको हो।

 

धनगढीले खेलको ३७औँ मिनेटमा आफिज ओलावालेको गोलमार्फत शुरूआती अग्रता लिएको थियो। डिबक्सभित्रबाट अहमद हिजाजि गरेको प्रहार ललितपुरका गोलकिपर जेफ्रिरि मार्सललाई लागेर फर्किएको बललाई ओलावालेले कुनै गल्ती नगरी गोल पोष्टको जालि चुमाए।

तर पहिलो हाफको अतिरिक्त समयमा ललितपुर खेलमा फर्कियो। ललितपुरका लागि इमोन इजेकिएलले सिधैं फ्रिकिकमा गोल गर्दै खेल १-१ गोलको बराबरी अबस्थामा ल्याए।

५०औँ मिनेटमा ललितपुरले दिनेश हेम्जनको गोलमार्फत अग्रता बनायो। आदित्य शाक्यले डिबक्बाट दिएको क्रसलाई दिनेशले वान टचमा सुन्दर गोल गरे।

त्यसपछि ५८ औँ मिनेटमा ललितपुरले खेलमा ३-१ को अग्रता बनायो। ललितपुरका लागि इमोन इजेकिएलले ओभर हेडमार्फत गोल गर्दै फाइनल खेलमा ब्यक्तिगत गोल संख्या दुई पुर्याए।

इमोनले दिनेश हेम्जनले दिएको क्रश पासमा गोल गरेका हुन्। ७९औँ मिनेटमा धनगढी १० खेलाडीमा सिमित बन्यो। धनगढीका रिजार्ड ओसीले दोहोरो पहेँलो कार्ड पाउँदै मैदान छाडे।

त्यसपछि इन्जुरी समयमा धनगढीका लागि हिजाजिले गोल गर्दै खेल ३-२ को अबस्थामा ल्याउँदै खेलमा फर्काउने संकेत गरेपनि सफल भने हुन सकेनन्।

लिग विजेता बनेसँगै ललितपुरले ७० लाख रुपैयाँ प्राप्त गरेको छ। पहिलो संस्करणको विजेता काठमाडौँ रेजर्सले ३५ लाख रुपैयाँ पुरस्कार पाएको थियो। उपविजेता बनेको धनगढीले २० लाखमा चित्त बुझाएको छ।

 

प्रकाशित मिति: December 30, 2023

कमेन्ट गर्नुहोस्

advertisment