प्लेअफमा पुग्ने सबै टोलीको टुंगो लाग्यो

प्लेअफमा पुग्ने सबै टोलीको टुंगो लाग्यो
0Shares

काठमाडौँ– प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको प्लेअफमा पुग्ने चारै टोलीको टुंगो लागेको छ।

बिहीबार दिनको दोस्रो खेलमा बागमतीले कर्णाली प्रदेशलाई १० विकेटले पराजित गरेसँगै प्लेअफ पुग्ने चारै टोलीको छिनोफानो भएको हो।

पाँच खेल खेलको विभागीय टोली एपीएफको १० अंक रहेको छ। एपीएफ अपराजित रहँदै शीर्ष स्थानमा छ। दोस्रो स्थानमा रहेको कोशीको ६ खेलबाट ८ अंक रहेको छ। कोशी एपीएफसँग मात्रै पराजित भएको थियो।

उसले अन्तिम खेल शनिबार लुम्बिनी प्रदेश विरुद्ध खेल्ने छ। हालसम्मको अंक तालिकालाई हेर्दा एपीएफ र कोशीले शीर्ष दुईमा रहेर सोझै क्वालिफायर खेल्ने सम्भावना उच्च छ। उता, ८/८ अंकसहित तेस्रो र चौथो स्थानमा रहेका सुदूरपश्चिम र बागमती प्रदेशले भने एलिमिनेटर खेल्ने सम्भावना रहेको छ। उनीहरूले १/१ खेल खेल्न बाँकी रहेको छ।

क्वालिफायर जित्ने टोली सिधै फाइनलमा पुग्ने छ भने पराजित टोलीले दोस्रो एलिमिनेटर खेल्ने छन्। पहिलो एलिमिनेटरमा जित हासिल गर्ने टोलीले क्वालिफायरमा पराजित टोलीसँग खेल्ने छ।

प्रकाशित मिति: December 28, 2023

कमेन्ट गर्नुहोस्

advertisment