मिठो बदला लिँदै वढ्यो ललितपुर

मिठो बदला लिँदै वढ्यो ललितपुर
0Shares

काठमाडौं पुस १० गते

काठमाडौं रेजर्ससंग लिगको अन्तिम खेलमा भोगेको पराजयको मिठो बदला लिँदै  ललितपुर सिटी एफसी नेपाल सुपर लिग (एनएसएल) को दोस्रो क्वालिफायरमा पुगेको छ।

मंगलबार त्रिपुरेश्वस्थित दशरथ रंशालामा सम्पन्न खेलमा ललितपुरले काठमाडौंलाई ३-० गोलले पराजित गरेको हो। ललितपुरको जितमा इमोन इजकेलले २ र पापा केबेले १ गोल गरे।

यो जितसँगै ललितपुरले दोस्रो क्वालिफायरमा पोखरा थन्डर्ससँगको भेट पक्का गरेको हो। लिगको अन्तिम भेटमा काठमाडौंले ललितपुरलाई १-० ले हराएको थियो।

यता, पराजित साविक विजेता काठमाडौंको भने उपाधि रक्षा गर्ने अभियान समाप्त भएको छ। ललितपुरले अब फाइनल प्रवेशको लागि बिहिवार पोखराको सामना गर्नेछ।

खेलमा पटक पटक आक्रमण बुनेको ललितपुरले गोल गर्नको लागि ३६ औँ मिनेट कुर्नु परेको थियो। पापा केबेले प्रहार गरेको बललाई काठमाडौंका गोलकिपरले बचाउ गरेको डिफ्लेक्सनलाई इमोन इजकेलले गोल पोष्टको जालि चुमाए।

त्यस्तै पहिलो हाफको अन्तिम मिनेटमा ललितपुरले पापा केबेको गोलमा अग्रता दोब्बर बनायो। निखिल कदमले प्रहार गरेको कर्नर किकमा कप्तान अन्नत तामाङले हेडिङ गरेको बल पोष्टमा लागेर फर्किदा पापाले त्यसलाई गोलमा परिणत गरेपछि काठमाडौं पहिलो हाफमा २-० गोलले पछि पर्यो।

५२औँ मिनेटमा ललितपुरले अग्रता तेब्बर बनायो। ललितपुरका लागि निखिलेले प्रिकिकमा दिएको क्रसलाई इमोन इजकेलले हेडिङमार्फत गोल पोस्टको जाली चुमाए।

काठमाडौंका कप्तान अन्जन राईले ललितपुरका शनिस श्रेष्ठलाई डिबक्स बाहिर लडाएपछि फ्रि किक प्राप्त गरेको थियो।

७४औँ मिनेटमा काठमाडौं १० खेलाडीमा सिमित बन्यो। काठमाडौंका कप्तान अन्जन राईले दोहोरो पहेँलो कार्ड व्यहोरेपछि उनलाई रेफ्रीले रातो कार्ड दिए।

ललितपुर यस सिजनको नेपाल सुपर लिगमा चौथो स्थानमा रहँदै प्लेअफमा प्रवेश गरेको थियो भने काठमाडौं तेस्रो स्थानमा रहँदै प्लेअफमा प्रवेश गरेको थियो।

 

प्रकाशित मिति: December 26, 2023

कमेन्ट गर्नुहोस्

advertisment