पोखरालाई पेनाल्टीमा पराजित गर्दै धनगढी फाइनलमा

पोखरालाई पेनाल्टीमा पराजित गर्दै धनगढी फाइनलमा
0Shares

काठमाडौं, पुस ९ गते

पोखरा थन्डर्सलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै धनगढी एफसी नेपाल सुपर लिग (एनएसएल) को फाइनलमा प्रवेश गरेको छ।

सोमबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा धनगढीले पेनाल्टी शुटआउटमा पोखरालाई ४-३ गोल अन्तरले पराजित गरेको हो। निर्धारित ९० मिनेटको खेलमा दुबै टोलीले १-१ गोलको बराबरी खेलपछि खेल अतिरिक्त समयमा धकेलिएको हो।

अतिरिक्त समयमा खेल २-२ गोलको बराबरी भएपछि खेलको निर्णय पेनाल्टीबाट लिएको छ। धनगढी दुई पटक पछि परेको अबस्थालाई बराबरीमा ल्याउँदै पेनाल्टीमा भाग्यमानी भएको हो।

खेलको पाँचौ मिनेटमा आयुष घलानको गोलमा पोखरा थन्डर्सले अग्रता बनायो। मोसेस ग्याम्बोको क्रसमा मार्की खेलाडी आयुष घलानले सुन्दर गोल गर्दै पोखरालाई खेलमा सुरुवाती अग्रता दिलाएका हुन्।

१९औँ मिनेटमा कोजो पापाले मोसेसको पासमा डिबक्सभित्रबाट प्रहार गरेको सट गोल पोष्टको नजिकबाट बाहिरिएको थियो। २९औँ मिनेटमा धनगढीका कप्तान देवेन्द्र तामाङले डिबक्स नजिक ह्यान्ड गरेपछि पोखराले फ्रिकिक पाएको थियो। जसमा जोए आईडोले प्रहार गरेको बल पोष्टमा लागेर फर्किएको थियो।

४७औँ मिनेटमा धनगढीले खेलमा फर्किने मौका पाएको थियो तर, पोखराका गोलकिपर प्रिसो बाधक बने। कर्नरमा आए बललाई पोखराका डिफेन्डरले क्लियर गर्ने क्रममा बल पोस्टको बायाँ भाग पुगेको बललाई धनगढीका रिर्जड ओसीले दिएको पासलाई अफिज ओलावाले हेडिङ प्रहारलाई प्रिसोले शानदार बचाउ गरे।

५४औँ मिनेटमा धनगढीका लागि कप्तान देबेन्द्र तामाङले गोल गरी खेलमा १-१ गोलको बराबरी अबस्थामा ल्याए। कमल श्रेष्ठले दिएको पासमा देबेन्द्रले हेडिङ मार्फत गोल गरेका हुन्।

६०औँ मिनेटमा हिजाजीले नजिकैबाट हेडर गोल गर्न असफल हुँदा धनगढीले खेलमा अग्रता लिने अवसर गुमायो। पोखरा ७२औं मिनेटमा अग्रता बनाउने अवसर खेर फाल्यो। मोसेसले पेनाल्टी बक्सबाट हेडमार्फत दिएको पासलाई डिफेन्डर फ्रान्कलि टेल्लाले सदुपयोग गर्न सकेनन्।

७९औं मिनेटमा प्रिसोले उत्कृष्ट बचाउ गर्दै ओलावालेको प्रहारलाई टारे । ७३औं मिनेटमा अर्कोतर्फ ताहाले उत्कृष्ट बचाउ गर्दै आईडुको हेडरलाई विफल पारे । ८१औँ मिनेटमा धनगढीले अग्रता बनाउने लगातार २ अवसर खेर फाल्यो।

त्यसपछि खेलमा दुबै टोलीले केहि राम्रो मौका पाएपनि सदुपयो नगर्दा खेल अतिरिक्त समयमा थकेलियो। खेलको अतिरिक्त समयको १२औँ मिनेटमा प्राप्त गरेको कर्नरमा पोखराका स्टेफन कोजोले सुन्दर हेडिङ गोल गर्दै टिमलाई अग्रता दिलाए।

त्यसपछि अतिरिक्त समयको दोस्रो हाफको अन्तिम मिनेटमा धनगढीका विदेशी खेलाडी अहमद हिजाजीले शानदार गोल गर्दै खेललाई २-२ गोलको बराबरीमा पुर्याए।

पेनाल्टी शुट आउट

त्यसपछि बाँकी समय थप गोल नहुँदा पहिलो पेनाल्टीमा धनगढीका लागि रिर्जड ओसिले गरे। पोखराका कप्तान दिनेश राजवंशीले गोल गरे। दोस्रो नम्बरमा धनगढीका लागि फोडे फोफनाले गोल गरे। पोखराका लागि दोस्रो पेनाल्टी अन्जल मर्हजनले गोल गरे ।धनगढीका लागि हिजाजिले पेनाल्टीमा चुके। उनको पेनाल्टी पोखराका गोलकिपर प्रिसोले बचिाए।

यता, पोखरा सुरज जिउ ठकुरीले गोल गरे। धनगढीका लागि चौथो नम्बरमा आशिष चौधरीले पेनाल्टीमा गोल गरे। पोखराका लागि मोसेसको प्रहार धनगढीका गोलकिपर सानदार बचाउ गरे।

धनगढीका लागि पाँचौं पेनाल्टीमा कप्तान देवेन्द्र तामाङले गोल गरे। अन्तिम पेनाल्टी हान्न आएका

पोखराका आयुष घलानले पेनाल्टीमा चुक्दा पोखरा फाइनल पुग्नबाट वञ्चित भयो।

घलानले यति फितलो पेनाल्टी प्रहार गरे की विपक्षी किपरले त्यसलाई सामान्य ढंगले वचाउन गर्न पुगे।

यसअघि लिग चरणका खेलहरु सकिएपछि पोखरा थण्डर्स १५ अंकसहित शीर्ष स्थानमा रहेर प्लेअफमा पुगेको हो भने धनगढी एफसी १३ अंकसहित दोस्रो स्थानमा रहदै प्लेअफमा पुगेको हो। त्यसैगरी डिफेन्डिङ च्याम्पियन काठमाडौँ रेजर्स १२ अंकसहित तेस्रो हुँदै र ललितपुर सिटी एफसी १० अंकसहित तेस्रो हुदै प्लेअफमा छनौट भएको हो।

 

 

प्रकाशित मिति: December 26, 2023

कमेन्ट गर्नुहोस्

advertisment