झापालाई अनिश्चित बनाउँदै चितवनले जोगायो शाख

झापालाई अनिश्चित बनाउँदै चितवनले जोगायो शाख
0Shares

काठमाडौं, पुस ६ गते

हुन पनि लिग अन्तिम चरणतिर पुग्दा प्रत्येक खेल झन झन रोचक बन्दै गयो र एनएसएलमा एकपछि अर्को अप्रत्यासित नतिजा निस्कियो।

त्यसमा पछिल्ला ती सबै क्लबहरु पराजित हुँदै गयो, जसको जितले टोलीको शीर्ष चारको स्थान पक्का हुने थियो।

शुरुमा धनगढी एफसीलाई बुटवल लुम्विनीले हारको स्वाद चखायो। त्यसपछि पालो आयो काठमाडौं रेजर्सको। वीरगंज एफसीले डिफेन्डिङ च्याम्पियनलाई त ४-१ को विशाल अन्तरले हराइदिएको थियो। खैर धनगढी त प्ले अफमा पुगिसकेको छ। तर काठमाडौंको यात्राको सकस बाँकी नै छ।

शुक्रवारको दिनको कथा पनि फरक भएन।

जितले प्लेअफ मा ढुक्कसंग पुग्ने झापा एफसीलाई प्रतियोगिताबाट बाहिरिसकेको चितवन एफसीले २-० को पीडादायी हार चखाइदियो। यसले झापाको प्ले अफमा प्रवेश गर्ने यात्रा कठिन बनाइदियो।

प्ले अफ खेल्न नपाउने भएपनि अन्तिम खेलको जितपछि चितवन पाँचौ स्थानमा उक्लिएको छ।

जितको औचित्य पुष्टि गर्दै चितवनका कप्तान विशाल श्रेष्ठले भने- ” कम्तिमा चितवन तालिकाको अन्तिम स्थानमा रहेर एनएसएलबाट बिदा लिन योग्य टोली थिएन। त्यसलाई हामीले प्रमाणित गर्न सक्यौं। ”

पराजित भएको भए चितवन लिग तालिकाको पुछारमा अर्थात सबैभन्दा कमजोर टोलीको रुपमा प्रतियोगिताबाट बाहिरिने थियो। अब त्यस्तो नहुने भयो।

शुक्रवार झापा एफसीलाई २-० गोलले पराजित गर्दै एफसी चितवनले प्रतियोगिताबाट विट् मारेको हो।

यो जितसँगै जारी सिजनको एनएसएलमा ८ खेलबाट ९ अंक जोडेको छ। चितवनले २ जित, ३ बराबरी र ३ व्यहोर्नुपरेको थियो।

यता पराजित झापाको भने समान ८ खेलबाट १० अंकसहित चौथो स्थानमा यथावत् रहेको छ। झापाले २ जित, ४ बराबरी र २ हार व्यहोर्नुपरेको थियो।

झापाको प्लेअफको सम्भावना अझै बाँकी रहेको छ। त्यसको लागि टोलीले अरु प्रतिस्पर्धीको नतिजा कुर्नुपर्नेछ।

खेलको सातौं मिनेटमा राफिक अमिनुले गोल गर्दै चितवनलाई अग्रता दिलाएका थिए। उनले विमल घर्ती मगरले प्रहार गरेको कर्नर किकमा गोल गरेका हुन्।

१८औं मिनेट बुद्ध तामांगले दिएको पासमा चितवनका स्टार विमलले राम्रो फुटस्किल देखाउदै प्रहार गरेको सुन्दर बललाई झापाका गोलकिपर स्टेफन क्युपिकले विफल पारिदिएका थिए।

पहिलो हाफको इन्जुरी समयमा लक्ष्मन रुचालले डिवक्सभित्र दिएको क्रसलाई समिराज ठोकरले गर्को राम्रो प्रहार चितवनको गोलपोष्टमा लागेर फर्किएको थियो।

७८औं मिनोटमा राफिक अमिनुले व्यक्तिग दोस्रो गोल गर्दै टोलीलाई २-० को अग्रतामा पुर्याए। विक्रम धिमालले दिएको लंग पासलाई अमिनुले जालि चुमाउन सफल भए।

त्यसपछि ८०औं मिनेटमा अन्जन विष्टलाई डिवक्सभित्र चितवनका डिफेन्डर छिरिंग लामाले लडाएपछि झापाले पेनाल्टी पाएको थियो।

खेलमा फर्किन झापालाई यो राम्रो अवसर थियो। तर विष्टले पेनाल्टीलाई गोलमा परिणत गर्न सकेनन्। उनको प्रहारलाई विशाल श्रेष्ठले उत्कृष्ट ढंगले बचाउ गरिदिएका थिए।

 

प्रकाशित मिति: December 22, 2023

कमेन्ट गर्नुहोस्

advertisment