नेपाली खेलकुदमा विमाको नीतिगत ब्यवस्था लागू

नेपाली खेलकुदमा विमाको नीतिगत ब्यवस्था लागू
0Shares

काठमाडौं, पुस ६ गते

राष्ट्रिय खेलकुद परिषदको २ वर्षको प्रयासपछि खेलकुद विमा सम्वन्धि नीतिगत ब्यवस्था लागू भएको छ।

पहिले खेलाडीहरुको विमा गर्नुपर्दा दुर्घटना विमा वा अन्य कुनै विमा शीर्षकमा विमा गर्नुपर्थ्यो भने अब आधिकारिक रुपमा खेलकुद विमा लागू हुने भएको छ।

खेलकुद विमालेख सम्बन्धी नितिगत प्रक्रिया पूरा भएपछि राष्ट्रिय खेलकुद परिषद(राखेप) का सदस्य सचिव टंकलाल घिसिङले भने – नेपाली खेलकुद क्षेत्रमा नयाँ अध्याय शुरु भएको छ।

राखेप सदस्य सचिव घिसिङ विस २०७८ मंसिर १४ गते सदस्य सचिव नियुक्त हुँदा उनले खेलाडी विमा नीति ल्याउने पहिलो घोषणा गरेका थिए र उक्त फाइलमा हस्ताक्षर गरेका थिए।

संयोग के रह्यो भने त्यसको ठिक २ वर्षपछि अर्थात गत महिना मंसिर १३ गते नेपाल बीमा प्राधिकरणले खेलकुद बीमालेख जारी गर्यो।

सदस्य सचिव घिसिङले भने – ” विमा नीति ल्याउन धेरै कानुनी प्रक्रिया पूरा गर्नुपर्ने रहेछ। अनेक प्रयासपछि राखेप यसमा सफल भयो। दुई वर्ष लाग्यो।”

खेलकुद विमाका लागि राखेपले ५१ खेललाई न्यून जोखिम, सामान्य जोखिम र जोखिमयुक्त खेल गरी तीन भागमा वर्गिकरण गरेको छ।

जसमा न्यून जोखिम खेलमा टेबलटेनिस, सफ्ट टेनिस, टेनिस, सुटिङ, गल्फ, बडीविल्डिङ र स्क्वास परेको छ भने सामान्य जोखिममा ब्याडमिन्टन, क्रिकेट, हक्की, भलिबल, एथलेटिक्स, फेन्सिङ, जुडो, जिम्न्याष्टिक, ह्याण्डबल, बास्केटबल, पौडी, सेपाकताक्रो, भारोत्तोलोन, ट्रायथलन, कबड्डी, खोखो, रिङ रेस्लिङ, कराते, तेक्वान्दो, उसु, बक्सिङ, फुलकन्ट्याक्ट कराते, कुस्ती, साईक्लिङ परेका छन्।

त्यस्तै जोखिमयुक्त खेलहरुमा मोटर तथा मोटरसाईक्लिङ स्पोर्टस, राफ्टिङ एण्ड क्यानोईङ, क्वालाईम्विङ, पेन्टाथोलन, बन्जी जम्पिङ तथा क्यानोनिङ, मुवाँथाई, माउण्टेन रनिङ, आईस हक्की एण्ड अल्पाईन स्पोर्टस वाटर स्पोर्टस, रग्वी, प्याराग्लाइडिङ र फुटबल छन्।

वर्गिकरण अनुसार न्युन जोखिममा रु एकहजारको २ रुपैंया, सामान्य जोखिममा २ रुपैंया ५० पैसा र जोखिमयुक्त खेलका लागि हजारको ३ रुपैंया वीमा लाग्नेछ।

विमा प्रयोग गरिएपछि दुर्घटनाका कारण तत्काल वा १८३ दिन भित्र मृत्य भएमा क्षतिपूर्तिको व्यवस्था हुने, पार्थिव शरिर व्यवस्थापन खर्च प्राप्त हुने, काजकिरिया खर्च पाउने, स्थायी वा पूर्ण असक्तता सम्वन्धि व्यवस्था हुने बताइएको छ।

सदस्य सचिव घिसिङले फुटबल र रग्वीलाई सामान्य जोखिमयुक्त खेलको सूचीमा राख्ने प्रयास गरेपनि विमा संचालकहरुको नियम अनुसार जोखिमयुक्त खेलमा परेको र त्यसलाई अब सामान्य जोखिमयुक्त खेलमा लैजाने प्रयास भइरहेको बताए।

नेपाली खेल संघहरुको संस्थागत विकास सुरु भएको करिव ७६ बर्ष पछि खेलकुद बीमा सम्वन्धि नीतिगत व्यवस्था पारित भएको हो।

राष्ट्रिय खेलकुद परिषदले अब हुने खेलकुद प्रतियोगिता खेलाडीको विमा अनिवार्य गर्न संघहरुलाई पत्राचार गर्ने बताए।

खेल्ने क्रममा हुने चोटपटक देखि ठूला दुर्घटना हुने गरेकोले विश्व खेलकुदमा विमा अनिवार्य शर्त मान्ने  गरिन्छ।

“बीमा लेखले खेलाडीहरुमा आत्मविश्वासका साथ खेल्न सक्ने वातावरण बढाउने छ” राखेपले जारीगरेको  विज्ञप्तीमा भनिएको छ–“पछिल्लो समय केही ठूला प्रयतियोगिताहरुमा खेलाडीहरुको बीमा गर्न सुरु भएतापनि बीमालेख सम्वन्धि स्पस्ट नीतिको अभाव थियो अब त्यो पुरा भएको छ ।”

प्रकाशित मिति: December 22, 2023

कमेन्ट गर्नुहोस्

advertisment