प्रधानमन्त्री कप : एपीएफको लगातार दोस्रो जित

प्रधानमन्त्री कप : एपीएफको लगातार दोस्रो जित
0Shares

काठमाडौं, पुस ६ गते

विभागीय टोली एपीएफले प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित हात पारेको छ।

शुक्रबार भएको दोस्रो खेलमा एपीएफले मधेश प्रदेशलाई १० विकेटले पराजित गरेको हो। एपीएफले पहिलो खेलमा सुदूरपश्चिम प्रदेशलाई ९ विकेटले पराजित गरेको थियो।

जितसँगै एपीएफ अंक तालिकाको शीर्ष स्थानमा यथावत् रहेको छ। एपीएफको ४ अंक रहेको छ। शुक्रबार मधेशले दिएको ४१ रनको लक्ष्य एपीएफले ५.५ ओभरमा पूरा गर्‍यो। एपीएफकी ओपनर तथा कप्तान सिता रानामगरले सर्वाधिक १९ रन बनाइन्। उनले ९ बलमा ४ चौका प्रहार गरिन्।

अर्की ओपनर ज्योति पाण्डेले २६ बलमा ३ चौकासहित १६ रन बनाइन्। त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको मधेशले १९.२ ओभरमा सबै विकेट गुमाउँदै ४० रन बनायो। मधेशकी प्रतिमा साहले मात्रै दोहोरो अंकमा रन बटुल्न सकिन।

उनले ३४ बलमा १ चौकासहित १५ रन बनाइन्। एपीएफकी सिताले सर्वाधिक ३ विकेट लिइन्। सुमन विष्ट र रेखा रावलले २/२ विकेट लिइन्। यस्तै, इन्दु बर्माको नाममा १ विकेट रह्यो। मधेशको यो लगातार दोस्रो हार हो। पहिलो खेलमा बागमती प्रदेशसँग मधेश २८ रनले पराजित भएको थियो।

प्रकाशित मिति: December 22, 2023

कमेन्ट गर्नुहोस्

advertisment