विलियमको ह्याट्रिकमा एकाएक ब्युंतियो वीरगंज

विलियमको ह्याट्रिकमा एकाएक ब्युंतियो वीरगंज एनएसएलका ह्याट्रिक म्यान विलियम
0Shares

काठमाडौ, पुस ७ गते

दोस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल) मा विलियम ओपोकुले सिजनको पहिलो ह्याट्रिक गर्दा काठमाडौं रेजर्स विरुद्ध वीरगंज युनाइटेडले शानदार जित निकालेको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा वीरगंजले काठमाडौलाई ४-१ गोलअन्तरले पराजित गरेको हो।

यो परिणाम संगै एनएसएलको समिकरण पनि निकै रोचक बन्न पुगेको छ। जितसंगै वीरगंजले ७ खेलमा ८ अंक जोड्दै तालिकाको छैटौं स्थानमा उक्लिएको छ भने एकाएक टोलीको प्ले अफमा पुग्ने सम्भावना ब्युँतिएको छ।

यता पराजित काठमाडौंले सिधै प्ले अफमा पुग्ने मौका मात्र गुमाएन, उसको एनएसएल यात्रा नै धरमराउनुपर्ने स्थिति बनेको छ।

यद्यपी ९ अंकमा अड्किएको काठमाडौं तालिकाको पाँचौ स्थानमा रोकिएको अवस्था छ। अब ललितपुर संगको काठमाडौंको लिगको अन्तिम खेल ‘डु अर डाई’ हुनेछ।

खेलको २१ औ मिनेटमा काठमाडौका लागी निक्वेन्जे जुनिजरले उत्कृष्ट काउन्टर अट्याक गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए। वीरगंजले प्रहार गरेको कर्नर किकमा काठमाडौका गोलकिपर अन्जल श्रेष्ठले बललाई आफ्नो पक्षमा राख्दै काउन्टर अट्याकको मुभ बनाइदिएका थिए। उक्त बललाई काठमाडौका तोजिन्दोभ कोमिवोनले अगाडी बढाउदै हिसुप थपलियालाई क्रस दिएका थिए। त्यसपछि हिसुपको पासमा जुनियरले गोल पोस्टको जाली चुमाउन सफल भए।

खेलको ३८ औ मिनेटमा हिसुप थपलियालाई डिवक्सभित्र वीरगंजका डिफेन्डले लडाएपछि काठमाडौंले पेनाल्टी प्राप्त गर्यो।

तर सोखरुख एमले पेनाल्टीलाई गोलमा परिणत गर्न नसकेपछि काठमाडौं अग्रता दोब्बर बनाउन चुक्यो। उनको प्रहारलाई वीरगंजका गोलकिपर तथा कप्तान दीप कार्कीले उत्कृष्ट बचाउ गरेका थिए।

त्यसको बदलामा पहिलो हाफको इन्जुरी समयमा वीरगंजले पेनाल्टी पायो र त्यसमा गोल गरेर खेल बराबरी गर्यो।

सुशिल लामाले प्रहार गरेको बललाई काठमाडौका रक्षकले रोक्ने क्रममा हातले रोकेको भन्दै रेफ्रीले पेनाल्टी दिएका थिए। जबकी रिप्लेमा बल हातले नभई टाउकोले जोगाएको स्पस्ट देखिएको थियो।

उक्त अवसरलाई विलियम ओपकुले सहज रुपमा गोलमा परिणत गरे।

पहिलो हाफमा हावी भएको काठमाडौंका लागि दोस्रो हाफको शुरुआत विर्सन लायक भयो। टोलीले दोस्रो हाफ शुरु भएको ९ मिनेटको विचमा अपत्यारिलो रुपमा ३ गोल खान पुग्यो। जसले खेल पूर्ण रुपमा वीरगंजको पक्षमा गयो।

दोस्रो हाफको पहिलो मिनेटमै अट्याकिंग मुभ बनाएको वीरगंजले ओबेड ओसुवुको असिस्टमा सुनिल खड्काले गोल गर्दै खेलमा २-१ को अग्रता दिलाए। खड्का दोस्रो हाफमा बिसोंग गुरुंगको स्थानमा मैदान प्रवेश गरेका थिए।

त्यस्तै ५६ औ मिनेटमा शुसिल लामाको कर्नर किकमा विलियमले हेडिंग मार्फत व्यक्तिगत दोस्रो गोल गर्दै आफ्नो टोलीलाई ३-१ गोलको अग्रतामा पुर्याए।

त्यसको अर्को मिनेटमै शुसिल लामाकै असिस्टमा विलियमले नै गोल गर्दै ४-१ गोलको अग्रतामा काठमाडौंको आशा समाप्त पारिदिए।

जारी लिगको यो पहिलो ह्याट्रिक हो।

अब काठमाडौले अन्तिम खेलमा ललितपुर सिटी एफसीविरुद्ध खेल्दा वीरगंजले बुटवल लुम्बिनीसॅग प्रतिस्पर्धा गर्नेछ।

प्रकाशित मिति: December 21, 2023

कमेन्ट गर्नुहोस्

advertisment