बाग्मती र एपीएफको विजयी शुरुआत

बाग्मती र एपीएफको विजयी शुरुआत
0Shares

काठमाडौं, पुष ५ गते

प्रधानमन्त्री कप महिला ट्वान्टी २० राष्ट्रिय क्रिकेट प्रतियोगितामा बिहीबार बाग्मती प्रदेश र सशश्त्र प्रहरी बलको एपिएफले विजयी सुरुआत गरेका छन्।

बाग्मतीले मधेश प्रदेशलाई र विभागीय टोली एपिएफले सुदूरपश्चिम प्रदेशलाई हराएको हो।

मुलपानी क्रिकेट मैदानमा एपिएफले सुदूरपश्चिम माथि नौ विकेटले सहजै हरायो। सुदूरपश्चिमले प्रस्तुत गरेको ८८ रनको लक्ष्य एपिएफले १६.१ ओभरमा एक विकेट गुमाउँदे भेट्टायो ।

एपिएफका लागि ज्योति पाण्डेले ४८ बलमा नौ चौकाको मद्दतले अविजित ४९ रनको योगदान गरिन् । यसैगरी इन्दु बर्मा ३१ रनमा अविजित रहिन् ।

दोस्रो विकेटका लागि ज्योति र इन्दुले अविजित ७५ रनको साझेदारी गरे । सुदूरपश्चिमका लागि एक मात्र विकेट इश्वरी विष्टले लिइन् ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा नौ विकेट गुमाउँदै ८७ रनको योगफल तयार पारेको थियो ।

सुदूरपश्चिमका लागि कविता जोशीले २२ र सम्झना खड्काले १२ रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

एपिएफका लागि सोनु खड्काले दुई तथा सुमन विष्ट, करुणा भण्डारी र इन्दु बर्माले समान एक विकेट लिए ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बागमतीले मधेशमाथि २८ रनको जित निकल्यो । बागमतीले प्रस्तुत गरेको १ सय १८ रनको लक्ष्य पछ्याएको मधेशले २० ओभर नै ब्याटिङ गरे पनि पाँच विकेट गुमाउँदै ८९ रन मात्र बनाउन सक्यो ।

मधेशका लागि पूजा महतोले ३५, अनुराधा चौधरीले २१ र प्रतिमा शाहले अविजित १५ रन बनाए । बागमतीका लागि कप्तान अस्मिना कर्माचार्यले दुई र मनिषा उपाध्यायले एक विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको बागमतीले निर्धारित २० ओभरमा चार विकेट गुमाउँदै १ सय १७ रनको योगफल तयार पारेको थियो ।

बागमतीका लागि यशोदा विष्टले ३९ बलमा ६ चौकाको मद्दतले अविजित ४७ रनको योगदान गरिन् । यसैगरी अस्मिना कर्माचार्यले अविजित ३० र हेलिशा गुरुङले १२ रन बनाए ।

पाँचौं विकेटका लागि यशोदा र अस्मिनाले अविजित ७२ रनको साझेदारी गरे । मधेशका लागि पूजा महतोले दुई तथा कप्तान कविता गौतमले एक विकेट लिए ।

प्रकाशित मिति: December 21, 2023

कमेन्ट गर्नुहोस्

advertisment