सुवासलाई भारतीय ओपनको उपाधि

सुवासलाई भारतीय ओपनको उपाधि
0Shares

काठमाडौं, पुस २ गते
नेपाल नम्बर एक एमेच्योर गल्फर सुवास तामाङले आईजीयु १२२ औं एमेच्योर गल्फ च्याम्पियनसिप अफ इण्डियाको उपाधि हात पारेका छन् ।
रोयल कलकत्ता गल्फ क्लबमा म्याच–प्ले फरम्याटमा खेलिएको ३६–होलको फाइनलमा सुवासले भारतीय खेलाडी रोहितलाई ९÷७ ले पराजित गरे । पहिलो नौ होलमा पछि परेको अवस्थालाई उल्ट्याँउदै सुवासले सात होल बाँकी रहँदै उपाधि जितेका हुन् । सुवासको यो ऐतिहासिक सफलता हो । नेपाली गल्फरले भारतमा कुनैपनि प्रतियोगिताको उपाधि जितेको यो पहिलो पटक हो ।
चौथो सिडेड सुबाश र तेस्रो सिडेड रोहितबीचको पहिलो नौ होलको प्रतिस्पर्धा रोमाञ्चक बन्यो । पहिलो होल सुबाशले जिते । तर दोस्रो र आठौं होल जित्दा भारतीय रोहितले नौ होलको समाप्तिमा एक होलको अग्रता बनाए । यसपछि १०औं होल सुबाशले जिते र खेललाई बराबरीमा पुर्याए । १३ औं होलमा सुबाशले अग्रता बनाए । तर १४ औं होल फेरि रोहितले जिते । खेल बराबरीमा पुग्यो । यसपछि १५ औं, १६ औं र १८ औं होल आफ्नो पक्षमा पार्दै १८ होलको खेल सकिंदा ३–अपको अग्रता बनाए ।
नेपालमा भएको १३ औं दक्षिण एसियाली खेलकुदका दोहोरो स्वर्ण पदक विजेता सुवासले त्यसपछि खेलिएको ११ होलमा एक होलमात्र गुमाए । २० औं होलमा हार बेहोरेका उनले त्यसपछि लगातार दुई होल जित्दै आफ्नो अग्रता ४–अप पुर्याए । २४ औं देखि लगातार ४ होल आफ्नो पक्षमा पार्दै सुवास २७ होलको समाप्तिमा ८–अपको अग्रता वनाउन सफल भए । २८औं होल बराबरी भएपछि सुवासले २९ औं होल आफ्नो पक्षमा पार्दै सानदार जित हासिल गरे । सन् १८९२ मा सुरूआत भएको भारतकै सबैभन्दा पुरानो गल्फ च्याम्पियनसिप जित्ने सुवास पहिलो नेपाली खेलाडी हुन् ।

सुरुको दुई दिन स्ट्रोक–प्ले फरम्याटमा ३६ होल खेलेपछि उत्कृष्ट ३२ खेलाडी म्याच–प्लेका लागि छनौट भएका हुन् ।  स्ट्रोक–प्लेमा सुवास १–ओभर ७३ र २–अण्डर ७० खेल्दै चौंथो भएका थिए ।
म्याच–प्लेको सुरुआती तीन राउन्डमा भारतीय खेलाडीलाई हराएका सुवासले सेमीफाइनलमा दक्षिण अफ्रिकाका अल्टिन भ्यान डर मर्वेमाथि जित हासिल गरेका थिए ।
नेपाल ओलम्पिक कमिटीबाट सन् २०२४ को पेरिस ओलम्पिक गेम्सका लागि छात्रवृत्ति प्राप्त गरेका सुवास विगत दुई वर्षदेखि भारतको बैंग्लुरुस्थित तरूण सरदेशाई एकेडेमीमा प्रशिक्षणरत रहेका छन् । सुवासको यो ऐतिहासिक सफलतामा सहयोग गर्ने संस्थाहरू राष्ट्रिय खेलकुद परिषद्, नेपाल ओलम्पिक कमिटी र तरूण सरदेशाई एकेडेमीलाई नेपाल गल्फ संघले धन्यावाद दिएको छ । साथै नेपाल गल्फ संघले डिसेम्बर २१ मा अर्का एमेच्योर खेलाडी राहुल वीकलाई पनि प्रशिक्षणको लागि तरूण सरदेशाई एकेडेमीमा पठाउने जनाएको छ ।

प्रकाशित मिति: December 18, 2023

कमेन्ट गर्नुहोस्

advertisment