हक्की संघको वार्षिक कार्यक्रम घोषणा

हक्की संघको वार्षिक कार्यक्रम घोषणा
0Shares

काठमाडौं, मंसिर २६ गते ।
नेपाल हक्की संघले वार्षिक कार्यक्रम मंगलबार सार्वजनिक गरेको छ । सातदोबाटोस्थित नेपाल ओलम्पिक कमिटीमा भएको कार्यक्रममा हक्की संघले कार्यक्रम सार्वजनिक गरेको हो ।
संघले पुसमा हेटौडामा अन्तरनगरपालिका हक्की प्रतियोगिता आयोजना गर्ने भएको छ । जनकपुरमा माघको अन्तिम साता मदन भण्डारी कप महिला राष्ट्रिय हक्की प्रतियोगिता, धुलिखेलमा फागुनको अन्तिम साता सहाना प्रधान राष्ट्रिय महिला हक्की प्रतियोगिता र विराटनगरमा चैतको अन्तिम साता गिरीजाप्रसाद कोइराला राष्ट्रिय पुरुष हक्की प्रतियोगिता गर्ने जानकारी दिइयो । मदन भण्डारी कप पहिलोपटक हुन लागेको हो भने सहाना प्रधान र गिरीजा कोइरालाको स्मृतिमा हुन लागेको प्रतियोगिता विगतकै निरन्तरता हो ।
त्यस्तै बैशाख अन्तिम साता प्रदेशस्तरीय पुरुष तथा महिला हक्की प्रतियोगिता गर्ने हक्की संघकी महासचिव सुवर्ण श्रेष्ठले जानकारी गराइन् । उक्त प्रतियोगिता हेटौडा वा चितवनमा गर्ने संघको योजना छ । जेठको अन्तिम साता पोखरामा पुरुष तथा महिला इन्डोर हक्की प्रतियोगिता गर्ने संघले जानकारी गरायो । काठमाडौं वा ललितपुरमा भेट्रान कप गर्ने भएको छ । मिति भनेपछि तय गरिने छ ।
संघको पहिलो वार्षिक कार्यक्रमका रुपमा रहेको डिएनएसएस लेभल– २ प्रशिक्षक तालिम भने मंगलबार सम्पन्न भएको छ । नेपाल ओलम्पिक कमिटीको सहयोगमा भएको तालिमको समापनका अवसरमा वार्षिक कार्यक्रम घोषणा गरिएको हो । साताव्यापी तालिममा १९ प्रशिक्षक सहभागी थिए ।
उनीहरुलाई नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले एक कार्यक्रमबीच प्रमाण पत्र वितरण गरे । सोही अवसरमा नेपालका पहिलो हक्की प्रशिक्षक अशोकराज पाण्डेलाई पनि सम्मान गरिएको थियो । अध्यक्ष श्रेष्ठ र हक्की संघका अध्यक्ष अनिलप्रसाद शर्माले पाण्डेलाई दोसल्ला र प्रशंसा पत्र प्रदान गरी सम्मान गरे ।

प्रकाशित मिति: December 13, 2023

कमेन्ट गर्नुहोस्

advertisment