गौरिका र एलेक्जेन्डरको अर्को कीर्तिमान

गौरिका र एलेक्जेन्डरको अर्को कीर्तिमान
0Shares

काठमाडौं, श्रावण ११ गते
दक्षिण एशियाली खेलकुद (साग) की ४ स्वर्णधारी गौरिका सिंहले जापानको फुकुओकामा जारी २० औ संस्करणको वल्र्ड एक्वाटिक च्याम्पियनसिप २०२३ मा ५० मिटर ब्याक स्ट्रोकमा नयाँ कीर्तिमान रचेकी छिन्।

जापानमा रहेका नेपाल पौडी संघका अध्यक्ष अशोक बज्राचार्यका अनुसार बुधबार सम्पन्न ५० मिटर ब्याकस्ट्रोकमा गौरिकाले २०१६ मा गोहाटीमा आयोजना भएको १२ औं साग गेम्समा राखेको ३१.८७ सेकेन्डको समयमा सुधार गर्दै ३१.४४ सेकेन्ड समयको नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेकी हुन् । यस अघि गौरिकाले यसै च्याम्पियनसिपमा १०० मिटर ब्याकस्ट्रोकमा पनि नयाँ किर्तिमान राखेकी थिईन्।

ओलम्पिकको छनोट प्रतियोगिता समेत रहेको च्याम्पियनसिपको पुरुष तर्फको १०० मिटर फ्रिस्टायलमा एलेक्जेन्डर शाहले पनि आफ्नो समयमा सामान्य सुधार गर्दै नयाँ कीर्तिमान कायम गरेका छन्।

एलेक्सले पुरानो समय ५२.९६ सेकेन्डको समयमा सामान्य सुधार गर्दै ५२.९४ समयका साथ नयाँ रेकर्ड राखेका हुन् । एलेक्सले हालै सम्पन्न ११ औं एनएसए कप च्याम्पियनसिपमा ५२.९६ सेकेन्ड समयको कीर्तिमान राखेका थिए ।
मंगलबार सम्पन्न प्रतियोगितामा डुवाना लामाले २०० मिटर फ्रिस्टायलमा आफ्नो ब्यक्तिगत समयमा सुधार गर्दै २ मिनट १२.४६ सेकेन्ड समयमा दुरी पुरा गरेकी थिईन् । यस अघि डुवानाको ब्यक्तिगत समय २ मिनट १५.०१ समय रहेको थियो । यस विधामा गौरिकाको नाममा २ मिनट ११.९४ सेकेन्डको समय रहेको छ ।

प्रकाशित मिति: July 27, 2023

कमेन्ट गर्नुहोस्

advertisment