अमेरिकामा संजीत सम्मानित

अमेरिकामा संजीत सम्मानित
0Shares

काठमाडौं, पुस १७ गते
उमा कुङफुका अन्तर्राष्ट्रिय निर्णायक एवं भेट्रान खेलाडी संजीतकुमार राई अमेरिकाको टेक्सासमा सम्मानित भएका छन् ।
किरात राई समाज, अमेरिकाले खेलकुदको माध्यमबाट नेपाल र किरात राई समुदायको प्रतिष्ठा अभिबृद्धि गरेवापत पारुहाङ साँझ– २ को अवसरमा संजीतलाई सम्मान गरेको हो । सिटी अफ अर्भिङका डेपुटी मेयर डेनिस वेव, किरात राई समाज, अमेरिकाका अध्यक्ष खगेन्द्र राई र किरात राई समाज, अमेरिका (टेक्सास च्याप्टर) का अध्यक्ष दिलिप राईले संजीतलाई प्रशंसा पत्र प्रदान गरी एक कार्यक्रमबीच सम्मान गरे ।
राष्ट्रिय उमा कुङ फु प्रतियोगितामा आफ्नो तौलसमूहका दुईपटकका राष्ट्रिय च्याम्पियन संजीत स्लोभेनियामा भएको डब्लुएमएसी उमा विश्व च्याम्पियनसिपका स्वर्ण विजेता हुन् । उनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा निर्णायकको भूमिका पनि निर्वाह गरेका छन् ।
नेपाल उमा कुङ फु संघका वरिष्ठ उपाध्यक्ष समेत रहेका संजीत अमेरिकामा हुने ब्याटल अफ द ड्रागन च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्न र निर्णायकको भूमिका निर्वाह गर्न हाल अमेरिकामा छन् ।
सम्मानित भएपछि संजीतले सम्मानले खेलकुदमा अझ सक्रिय भएर अगाडि बढ्न प्रेरित गरेको बताउदै सम्मानका लागि किरात राई समाज, अमेरिकालाई धन्यवाद दिए ।

प्रकाशित मिति: January 3, 2024

कमेन्ट गर्नुहोस्

advertisment