मेस्सी ‘सर्वोकृष्ट नम्वर आठ’

मेस्सी ‘सर्वोकृष्ट नम्वर आठ’
0Shares

एजेन्सी, कार्तिक १५ गते

आर्जेन्टिना तथा इन्टर मायामी क्लबबाट खेल्ने लिओनेल मेस्सीले आठौँ पटक पुरुषतर्फको बालन डोरउपाधि हात पार्दै आफ्नै कीर्तिमान भङ्ग गरेका छन्।

प्यारिसमा आयोजित एउटा समारोहमा उनलाई उक्त उपाधि दिइएको हो। गत वर्ष उनले आर्जेन्टिनालाई फिफा विश्वकप फुटबल जिताउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए।

इङ्ग्ल्यान्ड तथा रेआल मड्रिडका मिडफील्डर जूड बेलिङ्गमले २० वर्षमुनिका सर्वोत्कृष्ट खेलाडी घोषित हुँदै कोपा ट्रफी हात पारे।

आठौँ पटक बालन डोर उपाधि हात पार्न मेस्सीले म्यान्चेस्टर सिटीका एर्लिङ होलानलाई उछिनेका थिए।

फ्रान्सका किलियान एम्बाप्पे तेस्रो स्थानमा रहे। एम्बाप्पेले गत विश्वकपको फाइनल खेलमा आर्जेन्टिनाविरुद्ध ह्याट्रिक गरेका थिए।

उनी त्यस्तो कीर्तिमान बनाउने दोस्रो खेलाडी हुन्। फाइनल खेलमा फ्रान्स आर्जेन्टिनासँग पेनाल्टीमा ४-२ ले पराजित भएको थियो।

“फेरि एक पटक यो क्षणमा रमाउन पाउँदा राम्रो लागेको छ,” मेस्सीले भने, “विश्वकप जित्न सक्षम हुँदा र मेरो सपना पूरा गर्न पाउँदा।”

बार्सिलोना तथा पीएसजी क्लबका यी भूतपूर्व खेलाडीले भने,”आफ्नो खेलजीवन र आफूले हासिल गरेका सबै कुरा, इतिहासको सबैभन्दा उत्कृष्ट टोलीको अंश हुने सौभाग्य पाएको म कल्पना पनि गर्न सक्दिनँ।”

“यी सबै [बालन डोर उपाधिहरू] भिन्नाभिन्नै कारणले विशेष छन्।”

 

बालन डोर उपाधि वितरण समारोहमा म्यान्चेस्टर सिटीका एर्लिङ होलान र रेआल मड्रिडका जूड बेलिङ्गम

नर्वेली खेलाडी होलानले लीगका ३५ खेलमा ३६ गोल गर्दै नयाँ कीर्तिमान बनाएका थिए।

म्यान्चेस्टर सिटीले ट्रेबल अफ प्रेमिअर लीग, च्याम्पिअन्स लीग र एफए कप जित्दा उनले सबै खेलमा कुल ५२ गोल गरेका थिए।

सर्वोत्कृष्ट गोलकर्ताका रूपमा उनलाई ‘गेर्ड मुलर ट्रफी’ प्रदान गरियो।

“म म्यान्चेस्टर सिटीलाई धन्यवाद दिन चाहन्छु, पूरै क्लबलाई,” उनले भने।

“म आज जे छु त्यो बनाइदिएकोमा म मेरो परिवार र आफूनजिक भएका सबै जनालाई धन्यवाद दिन चाहन्छु।”

मेस्सी अरू सबैभन्दा अगाडि

वर्षको सर्वोत्कृष्ट फुटबल खेलाडीलाई ‘बालन डोर’ उपाधि दिइन्छ। विश्वभरिका १०० पत्रकारले आफ्नो मत दिएर उपाधि विजेता छान्छन्।

आर्जेन्टिनालाई विश्वकप फुटबल जिताउन सघाउनुका साथै मेस्सीले इन्टर मायामीलाई पहिलो पटक लीग्स कप उपाधि जिताउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए। मेजर लीग सकरबाट खेल्दा उनले १४ खेलमा ११ गोल पनि गरे।

पोर्चुगलका क्रिस्टियानो रोनाल्डोले पाँच पटक बालन डोर जितेका थिए। अन्तिम पटक सन् २०१७ मा उक्त उपाधि हात पारेका रोनाल्डो यसपालि उपाधिका लागि शीर्ष १० खेलाडीको सूचीमा परेनन्।

रोनाल्डो सन् २००३ देखि गत वर्षसम्म उपाधि पाउन सक्ने खेलाडीको सूचीमा पर्दै आएका थिए। रोनाल्डो अहिले साउदी अरबको क्लबबाट खेल्छन्।

एमिलियानो मार्टिनेस सर्वोत्कृष्ट गोलरक्षक

 

उत्कृष्ट गोलरक्षक घोषित आर्जेन्टिना तथा एस्टन भिलाका एमिलियानो मार्टिनेसले आफ्ना बुवा अल्बर्टो मार्टिनेससँगै उभिएर याशिन ट्रफी लिएका थिए।

विश्वकप विजेता आर्जेन्टिनी टोलीका गोलरक्षक एमिलियानो मार्टिनेस विश्वकै सर्वोत्कृष्ट गोलरक्षक घोषित भए। उनले ‘याशिन ट्रफी’ हात पारे।

कतारमा आयोजित फिफा विश्वकप फुटबलमा मार्टिनेसले ‘गोल्डन ग्लोभ’ पनि जितेका थिए। उनले फ्रान्सविरुद्धको फाइनल खेलमा किङ्स्ली कोमानले प्रहार गरेको पेनाल्टी रोक्दै आर्जेन्टिनालाई खेल जिताउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए।

प्रेमिअर लीगमा एस्टन भिलालाई सातौँ स्थानमा पुर्‍याउन तथा यूरोपा कन्फरेन्स लीगमा स्थान सुनिश्चित गर्न पनि उनको भूमिका थियो।

प्यारिसमा आयोजित समारोहमा केही मानिसले उनको उपहास गरेका थिए।

गत वर्ष फ्रान्सलाई पराजित गर्दै आर्जेन्टिनाले विश्वकप जित्दा उनको हर्षोल्लासको शैली र उनले गरेका टिप्पणीका कारण आर्जेन्टिनी गोलरक्षक मार्टिनेसको चर्को आलोचना भएको थियो।

निर्धारित तथा अतिरिक्त समयमा पनि तीन-तीन गोलको बराबरी भएपछि पेनाल्टीका आधारमा भएको अन्तिम निर्णयमा फ्रान्सलाई हराउँदै आर्जेन्टिनाले विश्वकप फुटबलको उपाधि जितेको थियो

म्यान्चेस्टर सिटी वर्षको उत्कृष्ट क्लब

म्यान्चेस्टर सिटी दोस्रो वर्ष पनि वर्षको उत्कृष्ट क्लब घोषित भएको छ।

म्यान्चेस्टर सिटीले गत सीजनमा ट्रेबल अफ च्याम्पिअन्स लीग, प्रेमिअर लीग र एफए कप जितेको थियो।

म्यान्चेस्टर सिटी तीनवटै प्रतियोगिता जित्ने दोस्रो इङ्ग्लिश क्लब हो।

उक्त क्लबका सात खेलाडी यो वर्षको बालन डोर उपाधिका लागि अन्तिम सूचीमा परेका थिए।

 

रङ्गभेदविरुद्ध आवाज

मैदानबाहिर पुर्‍याएको योगदानका लागि रेआल मड्रिडका भिनीस जून्योरलाई ‘सोक्रटिज अवार्ड’ प्रदान गरियो। उनले फुटबलमा हुने रङ्गभेदविरुद्ध आवाज उठाइरहने प्रतिबद्धता व्यक्त गरे। उनी ब्रजिलको राष्ट्रिय खेलाडी हुन्।

स्पेनमा ‘ला लिगा’ खेल्दा उनले विगत दुई सीजनदेखि रङ्गभेदपूर्ण अपमान खेप्नुपरेको छ।

ब्रजिलका विपन्न क्षेत्रमा विद्यालय बनाउने तथा शिक्षामा लगानी गर्ने गरी एउटा संस्था स्थापना गरेकाले फिफाले उनको यो कामको सम्मान गरेको हो।

“रङ्गभेदविरुद्धको सङ्घर्षमा म बलियो बनेर उभिन्छु,” उनले भने।

“हिजोआज पनि रङ्गभेदबारे कुरा गर्नु निकै दुःखद हो। तर मानिसहरूले कम दुःख पाऊन् भनेर हामीले सङ्घर्ष जारी राख्ननुपर्छ।”

सर बबी चार्ल्टनप्रति सम्मान

इङ्ग्ल्यान्ड तथा म्यान्चेस्टर यूनाइटेडका पूर्वखेलाडी डेभिड बेकमले मेस्सीलाई बालन डोर उपाधि प्रदान गरे। तर विजेताको नाम घोषणा गर्नुअघि उनले सर बबी चार्ल्टनप्रति सम्मान प्रकट गरे।

इङ्ग्ल्यान्डलाई विश्वकप जिताउने टोलीका सदस्य चार्ल्टनको यही महिना ८६ वर्षको उमेरमा मृत्यु भएको थियो।

“यो कक्षमा मैले सर बबी फुटबलको संसारलाई कति विशेष थिए त्यो भनिराख्नु नपर्ला,” उनले भने।

“विजयका कारण उनी मैदानमा सम्मानित थिए अनि मैदानबाहिर उनी जे कुराका लागि उभिन्थे त्यसका कारण अझ बढी सम्मानित थिए।”

उनले सर बबीका कारण आफूले म्यान्चेस्टर यूनाइटेडबाट खेल्ने अवसर पाएको सम्झना पनि गरे।

बालन डोर : उत्कृष्ट १० खेलाडी

यो वर्ष अन्तिम १० मा पर्ने खेलाडीहरूमा म्यान्चेस्टर सिटीका खेलाडीको बाहुल्य रह्यो।

१. लिओनेल मेस्सी (आर्जेन्टिना र पीएसजी/इन्टर मायामी)

२. एर्लिङ होलान (नर्वे र म्यान्चेस्टर सिटी)

३. किलियान एम्बाप्पे (फ्रान्स र पीएसजी)

४. केभिन ड ब्रोइन (बेल्जम र म्यान्चेस्टर सिटी)

५. रोड्री (स्पेन र म्यान्चेस्टर सिटी)

६. भिनीस जून्योर (ब्रजिल र रेआल मड्रिड)

७. हुल्यान आल्भारेस (आर्जेन्टिना र म्यान्चेस्टर सिटी)

८. भिक्टोर ओसिम्हेन (नाइजिरिया र नापोली)

९. बर्नान्डो सिल्भा (पोर्चुगल र म्यान्चेस्टर सिटी)

१०. लूका मोड्रिच (क्रोएशिया र रेआल मड्रिड)

 

प्रकाशित मिति: November 21, 2023

कमेन्ट गर्नुहोस्

advertisment